२५ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र भएपछि आगामी रणनीतिबारे छलफल सुरु भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्देशक समितिका पदाधिकारीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे छलफल गरेका हुन् । एक अधिकारीका अनुसार शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको निर्देशक समितिको बैठकमा सीसीएमसी सचिवालयले शुक्रबार हालको अवस्थाबारे ब्रिफिङ गरेको थियो । अहिलेको स्थिति कायमै रहे गम्भीर अवस्थाका संक्रमितहरुको व्यवस्थापनमा कठिनाइ हुने र मृत्युदर पनि बढ्ने आंकलन छ । बैठकको सुरुमा मन्त्रीहरुले आआफ्नो क्षेत्र थप खुकुलो बनाउनुपर्ने धारणा राखेका थिए । तर सीसीएमसीले संक्रमण दर बढ्ने र अझ खराब अवस्था आउनसक्ने आंकलन सुनाएपछि मन्त्रीहरु तत्काल थप क्षेत्र नखोल्न सहमत देखिएका छन् । साथै दसैंको पूर्वसन्ध्यामा देशभर लकडाउन गर्न नसकिने पनि मन्त्रीहरुको विश्लेषण छ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै राष्ट्रव्यापी लकडाउन हुन सम्भावना नभएको बताएका थिए । यस्ता छन् विकल्प स्रोतकाअनुसार सीसीएमसी निर्देशक समितिमा भएको छलफलमा तीन विकल्प अघि सारिएको छ । पहिलो, दसैंको विदालाई अघि सार्ने । सामान्य अवस्थामा दसैं विदा फूलपाती अर्थात कात्तिक ७ बाट मात्र सुरु हुन्छ । तर बैंक, मालतोललगायतका सरकारी कार्यालयमा भिडभाड बढेकाले सबै सरकारी कार्यालयममा १ कात्तिकबाटै विदा दिने प्रस्तावमा अघि सारिएको छ । निजी क्षेत्रलाई पनि यही समयबाट दसैं विदा गर्न आग्रह गर्ने विषयमा पनि छलफल भएको छ । दोस्रो, संक्रमण दर उच्च भएका स्थानहरुमा निषेधाज्ञा । सीसीएमसी निर्देशक समितिको बैठकमा सहभागी एक अधिकारीका अनुसार संक्रमण दर उच्च भएका क्षेत्रहरुमा केही समय निषेधाज्ञा जारी गर्ने विकल्पमा पनि छलफल भइरहेको छ । ‘पछिल्लो संक्रमणको अवस्था हेरेर रेड जोनलाई शिल गर्न सकिने विकल्पमा पनि छलफल भएको छ’, स्रोत भन्छ । तर सरकारी विज्ञहरुले नै समुदाय स्तरमा संक्रमण भइसकेकाले एक डेढ सातासम्म निषेधाज्ञा गरेर संक्रमण घटाउन नसक्ने बताएका छन् । लामो समयसम्म निषधाज्ञा गर्दा दसैंको समयमा सर्वसाधारणलाई रोक्न सकिने अवस्था छैन । तेस्रो, वडासम्मै संयन्त्र बनाएर जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ लागू गर्ने । हाल प्रहरी–प्रशासनबाट मात्रै सामाजिक दूरीसहित जनस्वास्थ्यका मापदण्डहरु लागू गराउन सम्भव नदेखिएको सीसीएमसी सचिवालयको निष्कर्ष छ । ‘सामाजिक दूरी, मास्क जस्ता विषयमा प्रहरी प्रशासनभन्दा पनि स्थानीय व्यक्तिलाई धेरै थाहा हुन्छ, त्यसैले त्यहीँको संयन्त्रलाई परिचालन गर्न प्रस्ताव गरेका हौं’, स्रोतले भन्यो । बैठकमा कुनै ठोस निर्णय भने भइसकेको छैन । सीसीएमसीले प्रस्ताव बनाएपछि आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्न भनिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।