पुरन अधिकारी ,पश्चिम नवलपरासी
सुनवल नगरपालिकाको पश्चिम सिमाना पूर्व पश्चिम राजमार्गको ज्यामिरे चोकबाट बौद्धमार्ग हुँदै करिब ७ कि.मि. दक्षिणतर्फ गएपछि देख्न सकिन्छ बैरागनाथ मन्दिर ।
सुनवल नगरपालिकाको वार्ड नं ८ मा अवस्थित यस मन्दिर भित्र ऐतिहासिक पृष्ठभूमि रहेको असाध्यै पुरानो शिव लिङ्ग समेत देख्न सकिन्छ भने माटो र टुक्रा ईटाले बनेको पुरानो (जिर्ण) मन्दिरको ठाउँमा हाल सुनवल नगरपालिकाको सहयोगमा बनेको विशाल एवं काष्ठकलाको समायोजन रहेको मन्दिर निर्माणाधीन अवस्थामा समेत देख्न सकिन्छ ।

वि.स. २०७२ सालमा नयाँ मन्दिर बनाउने उद्धेश्यले मन्दिरको जग खन्ने क्रममा प्राचिनकालका ईट्टाहरु भेटिएपछि तत्कालै लुम्बिनी विकास कोष,कपिलवस्तु संग्रालय र पुरातात्त्विक विभाग काठमाडौंबाट समेत बाट अनुगमन गरि बुद्ध सङ्ग सम्बन्धित तरगौलिताल र पंण्डितपुर नजिकै रहेकाले भगवान गौतम बुद्ध सङ्ग सम्बन्धित हुन कि भनि थप उत्खनन र अनुसन्धान गर्ने आश्वासन दिई मन्दिर निर्माणगर्न बन्देज लगाएपछि ठप्प भएको मन्दिर निर्माण कार्य स्थानीय सरकारहरुको आगमन पश्च्यात पुन: सुचारू भएतापनि उत्खनन हुन नसक्दा सो स्थान र मन्दिरले थप चर्चा पाउन सकेन।

स्थानीय बासिन्दाहरुको भनाईअनुसार धेरै वर्ष पहिले उत्तर तर्फका स-सना राज्य मध्ये कुनै एक राजा बैरागिएर सो स्थानमा आई पुजा- आजा गरि भगवानमा समर्पित हुदा सन्तोष प्राप्त गरेकाले सो मन्दिरको नाम बैरागनाथ रहेको र सो समयमा मन्दिर घना जङ्गलभित्र रहेकाले मन्दिरको संरक्षण जोगी गिरीहरुले गर्दै आएको र वि.स.२०५२ देखि भुमिहिन सुकुम्बासीहरुको त्यस क्षेत्रमा बाक्लो बसि मन्दिरको उचित संरक्षण गरेतापनि गरिबीकै कारण आ -आफ्नै रोजीरोटिका लागि संघर्ष गरिरहनुपर्दा यस मन्दिरको विकास र ऐतिहासिक हुदाहुदै पनि चर्चा परिचर्चा हुन नसकेको मन्दिरका पुजारी भविश्वर पाठक बताउँछन् ।

हाल सुनवल नगरपालिकाले आफ्नो नगरभित्रको धार्मिक र पर्यटन क्षेत्र भित्र यस क्षेत्र लाई पनि पारि विभिन्न निर्माणकार्य गर्दै जाँदा धार्मिक महत्त्वको साथ -साथै सुन्दरताको पनि अझ बढ्दै गईरहेको छ।पहिले मन्दिरको क्षेत्र धेरै रहेता पनि विधालय,प्रहरी कार्यलय निर्माण पश्चयात हाल मन्दिरको मातहतमा चार विघाहा क्षेत्रफल रहेको छ र यस भित्र गेट ,स्वर्ण रङ्गको ठूलो त्रिशूल,सुन्दर कलात्मक मन्दिर ,१०८ शिवलिङ्ग ,आश्रम ,वर पिपल र स्वामी सहितको चौपारी ,वृद्ध दिवा सेवा भवन जस्ता संरचना रहनुको साथै मन्दिरको ठिक पछाडि चार कट्ठा क्षेत्रमा विशाल पोखरी समेत रहेको छ।

नेपालमा रहेका मन्दिरहरु पशुपतिनाथ,मुक्तिनाथ भारतका केदारनाथ र बद्रीनाथ जत्तिकै नाथ जोडिएका मन्दिरहरु सरहनै ऐतिहासिक र धार्मिक स्थल हुदाहुदै पनि यस क्षेत्रले चर्चा पाउन नसकेको र पुरातात्त्विक विभागले उत्खनन गरेको खण्डमा थप चर्चा परिचर्चा हुन्थ्योकि भन्ने धारणा राख्ने सोही मन्दिर व्यवस्थापन समितिका सचिव सानु बाबु श्रेष्ठले यहाँ शिवरात्री, साउन भरिको सोमबारमा भक्तालुहरु टाढा टाढा बाट समेत आउने र अरु महिनाको सोमबार पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति रहने जनाउँदै पुजारी द्वारा दैनिक पुजा आजा हुने रुद्रि ,विवाह जस्ता धार्मिक कार्य समेत भैरहने जानकारी दिनुभयो ।

यस क्षेत्रमा मिश्रति जनजातिको बसोबास रहेतापनि सम्पूर्ण जातजातिको यस मन्दिर प्रति ठुलो आस्था रहेको र दक्षिण क्षेत्रका बासिन्दाहरु आफ्नो खेतीमा पानीको वर्षा गराउन समेत कलात्मक प्रस्तुति प्रदशन गर्दै यस मन्दिरमा आइ पानी माग्ने ,शिवरात्री र साउनको सोमबारमा सन्तान प्राप्ति ,धन,सुख जस्ता कुराहरूको भाक्कल गर्दा मनोकाक्षा पुराहुने र ठुली एकादसीमा मन्दिर सङ्गैको पोखरीमा तोरन तारी टाग्नाले ठुलो धर्म प्राप्त हुने भक्तालुहरुको कथन छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

