काठमाडौं, ११ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोज तथा पुनःस्थापनाका लागि एकैदिन २७ करोड ३३ लाख रुपैयाँ सहयोग संकलन भएको छ।
बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि सरकारले अघि सारेको एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न निजी तथा सरकारी कम्पनी तथा संस्थाले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा मन्त्रालयमा उपस्थित भएका १० वटा कम्पनी तथा संस्थाले कुल २७ करोड ३३ लाख रुपैयाँ सहयोग गरेका छन्। सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्रहण गरेका हुन्।
सहयोग गर्नेमा गोर्खा ब्रुअरीले सबैभन्दा बढी १० करोड रुपैयाँ प्रदान गरेको छ। यस्तै, कुमारी बैंकले ३ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, निफ्रा बैंकले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख, सारस बेवरेज (रेडबुल)ले २ करोड, शिव शक्ति ग्रुपले ५१ लाख, एनसेलले १ करोड तथा रिलायन्स सुगर मिल एण्ड केमिकल इन्डष्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन्।
सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्ने जनाएको छ।
विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

