विनोद निगम / नवलपरासी , ११ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभाव नारायणी नदीसम्म पुगेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा नदी किनारमा थुप्रिएका दाउरा तथा काठ निकाल्न थालेका छन्।
लगातारको बाढी र नदीको तीव्र बहावसँगै बगाएर ल्याइएका दाउरा, काठ तथा अन्य सामग्री नारायणी नदी किनारमा थुप्रिन थालेपछि स्थानीयले जोखिम मोलेर ती सामग्री निकाल्न थालेका हुन्।
बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि सुस्ता क्षेत्रका बासिन्दालाई केही समयअघि सुरक्षित स्थानमा समेत सारिएको थियो। पछिल्लो समय नदीको जलस्तर केही घटे पनि नदीमा बाढीले बगाएर ल्याएका सामग्री तथा शव भेटिने क्रम जारी रहेको छ।
रसुवाको बाढीले नारायणी नदीमा बगाएर ल्याएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४,५ स्थित नदी किनारबाट बिहीबार बिहानसम्म २६ वटा शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि नारायणी किनारमा थुप्रिएका दाउरा स्थानीयका लागि इन्धन तथा अन्य प्रयोजनमा उपयोगी हुने भएकाले उनीहरू नदी किनार पुग्ने गरेका छन्। तर तीव्र बहाव, चिप्लो किनार र बाढीले ल्याएका जोखिमपूर्ण सामग्रीका कारण नदीमा पस्दा सावधानी अपनाउनुपर्ने अवस्था छ।

प्रशासनले यसअघि नै नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक नदी किनारमा नजान स्थानीयलाई आग्रह गरेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

