२० असोज, बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्ताव पारित भएको असोज २० गतेलाई कालो दिनका रुपमा मनाउने नेपाली कांग्रेस रुपन्देहीले निर्णय गरेको छ । मंगलबार प्रदेश सभा बैठकबाट दुई तिहाई बढी मतले दाङ राजधानी बनाउने प्रस्ताव पास गरेपछि नेपाली कांग्रेस रुपन्देहीले विज्ञप्ति निकालेर राजधानी सारिएको दिनलाई कालो दिनका रुपमा मनाउन जिल्लावासीमा अपिल गरेको हो । पार्टी सभापति अब्दुल रज्जाकले निकालेको विज्ञप्तिमा मंगलबार साँझ ७ बजेदेखि आधा घण्टा घरका बत्ती निभाएर विरोध जनाउन अपिल गरेका छन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेका मध्ये ६ वटा प्रदेश यथास्थानमा कायम भएका छन् । प्रदेश ५ को राजधानी मात्रै दाङ सार्नुले जनताको भावनामा गहिरो चोट पुर्याउने कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । व्यापक विरोध र जनदवाव तथा अस्थायी राजधानी तोकिएपछि रुपन्देहीवासीले प्रदेश राजधानीका लागि गरेको योगदानलाई कुल्चँदै सरकारले दुई तिहाईको दम्भले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राजधानी सार्ने निर्णय गर्ने पार्टी र सरकार तथा यसका पक्षधरहरुविरुद्ध उपयुक्त मूल्याङ्कन हुने पनि विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले रुपन्देहीलाई राजधानी कायम गर्न निरन्तर आन्दोलन चलाउने र आफ्नो पार्टीको बहुमत पुगेका वेला रुपन्देही बनाउने दावी समेत विज्ञप्तिमा उल्लेख छ । अहिले चलिहरेको आन्दोलनलाई फरक ढंगले जारी राखिरहने कांग्रेसले जनाएको छ । आन्दोलनका क्रममा पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई विना सर्त रिहा नगरे त्यसका विरुद्ध पनि आन्दोलन चर्काउने चेतावनी कांग्रेसले दिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।