Rashtriya Dainik

६ दिनदेखि बेपत्ता माधवराजको परिवारमा बज्रपात, खाद्यान्न बोकेर पुग्यो सरावल गाउँपालिका

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ भदौ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोल निवासी ३५ वर्षीय माधवराज चौधरी रसुवामा आएको विनाशकारी बाढीपछि ६ दिनदेखि सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका चौधरी ट्र्याक्टर चालकका रूपमा कार्यरत थिए।

परिवारका अनुसार चौधरीसँग सोमबार राति घरमा कुराकानी भएको थियो। त्यसपछि भने उनी सम्पर्कविहीन छन्। रसुवामा आएको बाढीपछि उनको अवस्था अज्ञात रहेको र घरपरिवारका सदस्यहरू उनको खोजीमा जुटिरहेका छन्।

चौधरीको आम्दानीबाटै घरको दैनिक गुजारा चल्दै आएको थियो। आमा राधिका चौधरीसहित एक छोरा र एक छोरी रहेको परिवारको आर्थिक अवस्था अत्यन्त विपन्न रहेको बताइएको छ। परिवारका मुख्य आम्दानीकर्ता नै बेपत्ता भएपछि परिवार झनै संकटमा परेको छ।

माधवराजको अवस्थाबारे जानकारी पाएपछि सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमति हरिजन बासाबसही नयाँटोलस्थित उनको घरमै पुगेर परिवारलाई भेटेका छन्। गाउँपालिकाले परिवारको तत्कालीन अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न सामग्री उपलब्ध गराउनुका साथै आवश्यक सहयोग र आत्मबल प्रदान गरेको छ।
यस दुःखद् घडीमा स्थानीय सरकार परिवारको साथमा रहेको बताउँदै गाउँपालिका अध्यक्ष चौधरीले बेपत्ता माधवराजको खोजी तथा परिवारलाई आवश्यक सहयोगका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बाढीमा बेपत्ता चौधरी सकुशल भेटिएर छिट्टै परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामना गर्दै परिवार तथा स्थानीयवासीले खोजी कार्यलाई थप तीव्र बनाउन आग्रह गरेका छन्।


माधवराज चौधरीबारे कुनै जानकारी प्राप्त भएमा ९८००७०२५९१ (सीता कुमारी थारु) मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित