आरपि उपाध्याय / नवलपरासी, १५ भदौ
नेपाल पत्रकार महासंघकी केन्द्रीय सभापति निर्मला शर्माले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको कठिन परिस्थितिमा सबै पक्षले सरकारलाई सहयोग गर्नुपर्ने बताएकी छन्।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले विपद्को समयमा रिपोर्टिङमा खटिने पत्रकारले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै घटनाको वास्तविकता नागरिकसमक्ष पुर्याउनुपर्नेमा जोड दिइन्।
सत्य–तथ्यमा आधारित समाचार सम्प्रेषणबाट मात्रै लोकतन्त्र बलियो हुने भन्दै उनले विपद्का बेला पत्रकारिता अझ जिम्मेवार, संवेदनशील र तथ्यपरक हुनुपर्ने बताइन्।

अध्यक्ष शर्माले राज्य निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघ आन्दोलनमै रहेको उल्लेख गरिन्। उनले सम्पूर्ण सञ्चार जगतलाई सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिन्।

रामग्राम नगरपालिका–१४ स्थित हडरिया पोखरी हेरिटेज सामुदायिक होमस्टे पार्कमा आयोजित कार्यक्रममा महासंघका पूर्व केन्द्रीय सभापति विपुल पोख्रेल, केन्द्रीय सदस्य रामराज पोख्रेल, रामग्राम नगरपालिका प्रमुख धनपत यादव, सुनवल नगरपालिका प्रमुख विमला अर्याल, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष नगेन्द्र अग्रहरीलगायतले धारणा राखेका थिए।
कार्यक्रम नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कार्यवाहक सभापति विकास अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा केही महिनाअघि निधन भएका नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति केशव पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो। उनकी धर्मपत्नी सुमित्रा पराजुलीलाई कदरपत्रसहित नगद र दोसल्ला ओढाएर सम्मान गरिएको कार्यवाहक सभापति अधिकारीले जानकारी दिए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

