Rashtriya Dainik

नवलपरासीमा ४ राउन्ड हवाइ फायर, १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ भदौ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१ बाट १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जनाएको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सोमबार भारतीय नम्बर प्लेट UP 56 AH 6189 को मोटरसाइकलमा आएका दुई जनालाई शंका लागेर रोक्न खोजेको थियो। प्रहरीका अनुसार रोक्न खोज्दा उनीहरू मोटरसाइकलसहित भाग्न थालेपछि चेतावनीस्वरूप हवाइ फायर गरी नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज, सेखंलीका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र निचलोनका २७ वर्षीय दिपक श्रीवास्तव रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र एक थान भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका उनीहरूले भारतबाट लागूऔषध खरिद तथा संकलन गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्ने गरेको प्रहरीको दाबी छ। दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बुझाइएको छ।

घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायसमक्ष थप चुनौती रहेको देखाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित