राष्ट्रिय दैनिक / नवलपरासी ,११ भदौ
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नारायणी नदीमा बगेर आएका पहिचान नखुलेका २६ वटा शव पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा फेला परेको विवरण सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीअन्तर्गतका विभिन्न प्रहरी इकाइले संकलन गरेको विवरणअनुसार फेला परेका शवमध्ये ८ जना महिला, १५ जना पुरुष, १ जना बालक र २ जना बालिका रहेका छन्। अधिकांश शवको नाम, थर र वतन खुल्न सकेको छैन।
विवरणअनुसार शवहरू सुस्ता गाउँपालिका–४ का विभिन्न ठोकर नम्बर, वडा नं. ५ तथा वडा नं. ६ आसपासका क्षेत्रमा फेला परेका हुन्। केही शवलाई जिल्ला अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल तथा अन्य अस्पतालमा पठाइएको छ। केही शवको अवस्था हेर्दा पहिचान गर्न कठिन रहेको प्रहरी विवरणमा उल्लेख छ।
यसैबीच, बाढीले बगाएर ल्याएको मानव अंगसमेत नारायणी किनारमा फेला परेको छ। प्रहरी विवरणअनुसार सुस्ता गाउँपालिका–४ स्थित ठोकर नम्बर ३ मा बायाँ खुट्टा फेला परेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेपछि तल्लो तटीय क्षेत्रमा समेत यसको गम्भीर प्रभाव देखिएको हो। पछिल्लो विवरणअनुसार विभिन्न जिल्लाका नदी किनारमा ठूलो संख्यामा शव फेला परिरहेका छन् र सयौँ नागरिक अझै सम्पर्कविहीन रहेको समाचारहरूमा उल्लेख छ।
पश्चिम नवलपरासीमा पनि पछिल्लो समय नारायणी नदी किनारमा शव भेटिने क्रम बढेको छ। बिहीबार बिहानसम्म सुस्ता गाउँपालिका–४ मा मात्रै पाँच शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा बाढीको प्रभाव अझै कायम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
बाढीले ल्याएका शवको पहिचान खुलाउने तथा आफन्तसम्म पुर्याउने चुनौती प्रहरी र प्रशासनसामु थपिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

