Rashtriya Dainik

सुस्ताको नयाँ रोडम्याप : अस्पताल, कृषि, शिक्षा र रोजगारमा विशेष जोड

राष्ट्रिय दैनिक /नवलपरासी,५ असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि, रोजगार, पर्यटन तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको १९औँ गाउँसभामा अध्यक्ष टेक नारायण उपाध्यायले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नागरिकको जीवनस्तर उकास्ने, उत्पादन वृद्धि गर्ने तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्यका साथ विभिन्न योजना अघि सारिएको बताउनुभयो।

नीति तथा कार्यक्रमअनुसार निर्माणाधीन १० शय्याको सुस्ता अस्पताललाई पूर्णता दिई विशेषज्ञ चिकित्सकसहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयको भौतिक पूर्वाधार सुधार, दिवा खाजा, छात्रवृत्ति तथा निःशुल्क पाठ्यपुस्तक कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।

कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउने उद्देश्यले किसानको ज्ञान, सीप र प्रविधिमा पहुँच विस्तार गरिनेछ भने उद्यमशीलता विकास र वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीपलाई स्थानीय उत्पादन र व्यवसायसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। युवालाई लागूऔषध तथा अन्य दुव्र्यसनबाट जोगाउन निरोधात्मक, प्रवर्द्धनात्मक, दण्डात्मक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गरिने नीति पनि लिइएको छ।

खेलकुद विकासलाई प्राथमिकतामा राख्दै पालिका तथा वडा स्तरमा कबड्डी, क्रिकेट, कुस्ती लगायत स्थानीय खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ। सञ्चार क्षेत्रको विकासका लागि स्थानीय सञ्चारमाध्यमसँग सहकार्य, पत्रकारको क्षमता अभिवृद्धि तथा विज्ञापन वितरणमा स्थानीय सञ्चार संस्थालाई प्राथमिकता दिने व्यवस्था समेत गरिएको छ।

त्यसैगरी ‘एक घर एक धारा’ अभियानमार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने, विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिने तथा पर्यटन प्रवर्द्धनका लागि अनुमाघाट र चुहाडीजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, विकास र प्रचारप्रसार गरिने कार्यक्रम समावेश गरिएको छ। ‘हाम्रो सुस्ता, उज्यालो सुस्ता’ अभियानअन्तर्गत सौर्य सडक बत्ती जडान गरी गाउँपालिकालाई उज्यालो र सुरक्षित बनाउने योजना पनि अघि सारिएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विकास, सेवा प्रवाह र आर्थिक समृद्धिको मार्गचित्रका रूपमा हेरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूषाल का अनुसार आगामी असार १० गते आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय (बजेट) प्रस्तुत गरिनेछ।

स्थानीय आवश्यकता, उत्पादन वृद्धि, सामाजिक विकास र पूर्वाधार विस्तारलाई समान प्राथमिकतामा राख्दै सुस्ताले आगामी वर्षका लागि समग्र विकासको स्पष्ट खाका प्रस्तुत गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित