Rashtriya Dainik

सरावल गाउँपालिकाको ५३ करोडभन्दा बढीको बजेट तथा आर्थिक विधेयक गाउँसभाबाट पारित

राष्ट्रिय दैनिक /नवलपरासी ,५ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड ५३ लाख ९६ हजार रुपैयाँभन्दा बढीको बजेट तथा आर्थिक विधेयक गाउँसभाबाट पारित गरेको छ।

गाउँसभाको १८औँ अधिवेशनअन्तर्गत आयोजित दाेस्राे बैठकमा गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले आर्थिक विधेयक २०८३ सभामा प्रस्तुत गर्नुभएको थियो।

सभामा बजेट तथा आर्थिक विधेयकमाथि व्यापक छलफल भएपछि सभासद्हरूले सर्वसम्मत रूपमा पारित गरेका हुन्। पारित बजेटअनुसार कुल विनियोजनमध्ये रु ३२ करोड ९९ लाख ६४ हजार ५५५ अर्थात् ६१.६३ प्रतिशत रकम चालु खर्चतर्फ तथा रु २० करोड ५४ लाख ३१ हजार ४४५ अर्थात् ३८.३७ प्रतिशत रकम पूँजीगत खर्चतर्फ छुट्याइएको छ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा तथा रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम तय गरेको जनाएको छ। बजेटले स्थानीय विकासलाई गति दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

गाउँपालिका अध्यक्ष चौधरीले जनप्रतिनिधि, विषयगत शाखा, कर्मचारी तथा सरोकारवाला पक्षको सुझाव समेटेर बजेट तथा आर्थिक विधेयक तयार गरिएको बताउँदै योजनाबद्ध विकासमार्फत समृद्ध सरावल निर्माणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आर्थिक विधेयक र बजेट पारित भएसँगै सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षका विकास निर्माण तथा जनसेवामुखी कार्यक्रम कार्यान्वयन गर्ने कानुनी आधार प्राप्त गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित