२० असोज, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश ५ को नाम लुम्बिनी राखेकामा आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले आपत्ति जनाएको हो । प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ । यो निर्णय २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गरेको छ । महासंघले प्रदेश ५ लगायत सबै प्रदेशको नामाङ्कन ऐतिहासिक मानव सभ्यताले विकास गरेको थातथलोलाई सम्बोधन हुने गरी गर्ने अभियान र आन्दोलन जारी रहेको पनि बताएको छ । ‘…प्रदेश नं. ५ को नामाङ्कन ऐतिहासिक थातथलोलाई आधार मान्दै ’मगरात–थरुहट’ राख्नुपर्नेमा पुरानै राज्यसत्ता र संरचनाको झल्को दिने गरी लुम्बिनी’ नै राख्नु भनेको देश र जनताका लागि गम्भीर साथै ऐतिहासिक भूल गर्ने क्रम नरोक्नु हो’ कार्यवाहक महासचिव सुखवीर थामीले विज्ञप्तिमार्फत भनेका छन् । राज्यको यस खालको कदमले उत्पीडित आदिवासी जनजाति समुदायको आत्मसम्मानमा गम्भीर र पिडादायी ठेस पुर्याएको पनि उनले उल्लेख गरेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।