वीरगञ्ज, १८ जेठ । वीरगञ्जमा सञ्चालित डेरी उद्योग तथा किराना पसलहरूमा सोमबार संयुक्त बजार अनुगमन गरिएको छ। जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयको मोबाइल ल्याब भ्यानसहितको टोली, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अन्य नियमनकारी निकायहरूको सहभागितामा अनुगमन गरिएको हो।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको विशेष सूचना तथा प्राप्त उजुरीका आधारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले जानकारी दिए।
अनुगमनका क्रममा वीरगञ्ज महानगरपालिका–८ पानीटंकीस्थित मंगलम डेरी मा परीक्षण गरिएको २० लिटर दूधमा सोडा मिसिएको फेला परेको थियो। उक्त दूध तत्काल नष्ट गरिएको छ। साथै उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ विपरीत कार्य गरेको पाइएकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम कसुर कायम गरी दफा ३९ (१)(क) अनुसार डेरीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
त्यसैगरी वीरगञ्ज–६ घण्टाघरस्थित पतञ्जली आयुर्वेद लाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। यस्तै वीरगञ्ज–६ लोहारपट्टीस्थित जय दुर्गा भण्डार लाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गर्दै जरिवाना गरिएको छ। सो पसलबाट लेबल नभएको २७ केजी तरबुजाको बिउ तथा १० केजी चियापत्ती नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीका अनुसार जय दुर्गा भण्डारको भण्डारण क्षमता अत्यन्त ठूलो रहेको पाइएको छ। केही व्यवसायीहरूले नाम नखुलाउने सर्तमा उक्त स्थानबाट वीरगञ्जका ठूला होटल तथा बजार क्षेत्रमा गुणस्तरहीन, कमसल तथा बिल–बिजकविना भारतबाट ल्याइएका सामग्री आपूर्ति हुने गरेको दाबी गरेका छन्।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय पर्सा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले स्वच्छ बजार, उपभोक्ताको अधिकार, सही तौल, गुणस्तरीय वस्तु तथा खाद्य शुद्धताको सुनिश्चितताका लागि निरन्तर आवाज उठाउँदै आएको जनाएको छ। मञ्चले खाद्य स्वच्छता र जनस्वास्थ्यमा खेलवाड गर्ने उद्योगी तथा व्यवसायीमाथि थप प्रभावकारी अनुगमन र कानुनी कारबाही आवश्यक रहेको बताएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

