राष्ट्रिय दैनिक , नवलपरासी ,१७ जेठ
इण्डो नेपाल बॉर्डर पत्रकार संघको विस्तारित बैठक अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ।

उहाँले कुनै पनि राज्य सञ्चालनका लागि मिडियालाई चौथो अंगका रूपमा लिइने उल्लेख गर्दै पत्रकारहरूले समाज, सरकार र जनताबीच पुलको काम गर्ने बताउनुभयो। नेपाल र भारतबीच भाषा, संस्कृति, संस्कार तथा परम्परामा धेरै समानता रहेको र सीमा (बोर्डर) मात्र अलग भए पनि दुवै देशका जनता भावनात्मक रूपमा एकअर्कासँग जोडिएको उहाँको भनाइ थियो।

“नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको छ। हाम्रो भाषा, संस्कृति र संस्कार मिल्दोजुल्दो छ। यस सम्बन्धलाई अझ मजबुत र जीवन्त बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ,” अध्यक्ष चौधरीले भन्नुभयो।

इण्डो नेपाल बॉर्डर पत्रकार संघका अध्यक्ष कौशल कुमारको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा छितौनी (उत्तर प्रदेश)का चेयरमेन अशोक निषादले पनि नेपाल–भारतबीचको मित्रता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप विस्तार गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे, सरावल–५ का पूर्व वडा अध्यक्ष दिनेश सहानी, पत्रकार माधवेन्द्र पाण्डेय, चन्द्रभूषण शाण्डिल्यलगायतले आफ्नो धारणा राख्नुभएको थियो।

संघका संरक्षक आर.पी. उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पत्रकार उमेश बि.क.**ले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा नेपाल र भारतबीचको सदियौँदेखिको मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउने, पत्रकारितामार्फत सामाजिक सद्भाव प्रवर्द्धन गर्ने तथा सीमा क्षेत्रका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गर्ने विषयमा व्यापक छलफल भएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

