Rashtriya Dainik

विनयी त्रिवेणी–६ मा बुद्ध प्रतिमा निर्माण सुरु, आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गर्ने लक्ष्य

आरपि उपाध्याय /नवलपरासी ,१६ जेठ

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–६ स्थित नारायणी नदी किनारको सिमल बोट नजिक भगवान बुद्धको प्रतिमा निर्माणका लागि शनिबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
ज्योति गुम्बा बौद्ध बिहार विनयी त्रिवेणी–७ का अध्यक्ष तथा शिलान्यास समितिका संयोजक सिंहबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका–६ का वडा अध्यक्ष नुरेन्द्र शाहले बौद्ध धर्मको विधि र प्रक्रियाअनुसार प्रतिमा निर्माणको शिलान्यास गर्नुभएको थियो।


कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहार, तिलोत्तमा–४ डिङरनगरका बौद्ध भिक्षु विशारदसहित विभिन्न भन्तेहरूको सहभागिता रहेको थियो। भन्तेहरूले सामूहिक पञ्चशील वाचन, बन्दना, पूजा तथा सुत्र पाठ गरी धार्मिक विधिअनुसार शिलान्यास कार्य सम्पन्न गराएका थिए।
सो अवसरमा भन्ते अनिरुद्रले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भगवान बुद्धका ज्ञान, शिक्षा र दर्शनले मानव जीवनलाई नैतिक, अनुशासित र शान्तिपूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले बुद्धको शिक्षाबाट मनका विकार त्याग गरी नैतिक आचरणको विकास गर्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ तथा सुस्ता गाउँपालिका वडा नं. ५ का ठूलो संख्यामा श्रद्धालु नरनारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा पञ्चशील वाचन तथा सुत्र पाठमा सहभागिता जनाएका थिए।
शिलान्यास समितिका संयोजक सिंहबहादुर थापाले भगवान बुद्धको प्रतिमा निर्माणका लागि करिब ११ लाख रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिँदै आर्थिक वर्ष २०८३/०८४ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो।


स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धन, बुद्धका शान्ति र अहिंसाका सन्देशको प्रचारप्रसार तथा बौद्ध धर्मप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतिमा निर्माण गर्न लागिएको आयोजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित