वीरगञ्ज,१६ जेठ — नेपाल पत्रकार महासंघ पर्सा शाखाभित्र आन्तरिक विवाद सतहमा आएको छ। शाखाबाट जारी गरिएको प्रेस विज्ञप्तिलाई लिएर अध्यक्ष ओमप्रकाश खनाल र सचिव विजयकुमार महतोविरुद्ध कार्यसमितिकै अधिकांश पदाधिकारी तथा सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
सदस्यता शुद्धीकरण प्रक्रिया तथा कार्यालयमा लगाइएको तालाबन्दी सम्बन्धमा जारी गरिएको विज्ञप्ति कार्यसमितिको सामूहिक निर्णयविना एकलौटी रूपमा सार्वजनिक गरिएको आरोप लगाउँदै पदाधिकारीहरू विरोधमा उत्रिएका हुन्।
विरोध जनाउने सदस्यहरूले महासंघको आधिकारिक फेसबुक समूहमार्फत अध्यक्ष र सचिवको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइमा महासंघजस्तो साझा संस्थाको आधिकारिक धारणा सार्वजनिक गर्दा कार्यसमितिमा पर्याप्त छलफल, सहमति र पारदर्शिता अनिवार्य हुनुपर्छ।
कार्यसमितिका केही सदस्यहरूले सार्वजनिक गरिएको विज्ञप्तिले सम्पूर्ण कार्यसमितिको भावना प्रतिनिधित्व नगरेको दाबी गरेका छन्। साथै, पछिल्लो समय शाखाभित्र एकलौटी निर्णय गर्ने प्रवृत्ति बढ्दै गएको आरोपसमेत लगाइएको छ।
सदस्यहरूका अनुसार आन्तरिक विवाद समाधानका लागि संवाद र सहमतिमार्फत निकास खोज्नुपर्ने अवस्थामा नेतृत्वको कार्यशैलीले विवाद झन् गहिरिने अवस्था सिर्जना गरेको छ।
महासंघ पर्सा शाखाभित्र देखिएको यो विवादले पत्रकारिता क्षेत्रमै व्यापक चर्चा र चासोको विषय बनेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

