राष्ट्रिय दैनिक / नवलपरासी ,५ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा वैदेशिक रोजगार सम्बन्धी सेवालाई स्थानीय तहमा संस्थागत गर्ने उद्देश्यले विषयगत समिति तथा सरोकारवालासँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन कार्यक्रम (SaMi) अन्तर्गत आयोजित उक्त कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन स्थानीय तहको भूमिका, सेवा प्रवाहको प्रभावकारिता तथा सरोकारवालाबीच समन्वयका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता सरावल गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी प्रसाद चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले वैदेशिक रोजगारका क्रममा हुने ठगी, शोषण तथा विभिन्न जोखिम न्यूनीकरणका लागि स्थानीय तहबाट प्रभावकारी सूचना, परामर्श तथा सहजीकरण सेवा आवश्यक रहेको बताउनुभयो। उहाँले सुरक्षित आप्रवासन सम्बन्धी सेवा गाउँपालिकामार्फत सहज र पहुँचयोग्य बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन सहित वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्ष, विभिन्न शाखा प्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले वैदेशिक रोजगारमा जाने युवाहरूलाई सही सूचना, सीप, कानुनी प्रक्रिया तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन स्थानीय तह, वडा कार्यालय, विषयगत समिति तथा सरोकारवाला संस्थाबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रमकाे प्रशिक्षण सुरक्षित आप्रवासन कार्यक्रमका लुम्बिनी प्रदेश सामि हेलबेटासकाे प्रदेश अधिकृत ज्याउल हक र जिल्ला कार्यक्रम संयोजक ज्ञान प्रकाश यादवले गर्नुभएको थियो । त्यस्तै सहभागीहरुलाई सरावल गाउँपालिकामा भएको सम्पुर्ण गतिविधिबारे जानकारी मनोसामाजिक परामर्शकर्ता निलु अग्रहरीले गराउनु भएको थियो ।
कार्यक्रमले वैदेशिक रोजगार सम्बन्धी सेवाहरूलाई स्थानीय तहमा संस्थागत गर्दै सुरक्षित आप्रवासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

