राजन कुमार बानिया /पर्सा, ३१ बैशाख
नेपाल निर्माण व्यवसायी संघले निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, महँगी तथा सरकारले मूल्य समायोजन नगरेको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ। सोही कार्यक्रमअन्तर्गत पर्साका निर्माण व्यवसायीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल निर्माण व्यवसायी संघ पर्साका पदाधिकारी तथा व्यवसायीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको बताएका छन्। संघका अनुसार पेट्रोलियम पदार्थ, डण्डी, सिमेन्ट, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि निर्माण कार्य सञ्चालन गर्न कठिन भएको छ।
ज्ञापनपत्रमा निर्माण उद्योग मुलुकको आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको उल्लेख गर्दै लाखौं श्रमिक यस क्षेत्रमा आश्रित रहेको जनाइएको छ। तर, निरन्तर बढ्दो मूल्यवृद्धिका कारण व्यवसायीहरू आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेको संघको भनाइ छ।
संघका अनुसार केही वर्षअघि प्रतिलिटर करिब १ सय ५१ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर १ सय ७२ रुपैयाँभन्दा माथि पुगेको छ। यस्तै डण्डी, सिमेन्ट, बिटुमिन लगायत सामग्रीको मूल्यमा समेत अत्यधिक वृद्धि भएको छ। पुरानै दररेटमा ठेक्का सञ्चालन गर्नुपर्ने बाध्यताले व्यवसायीहरू ठूलो घाटामा परेको संघले जनाएको छ।
सार्वजनिक खरिद नियमावलीअनुसार मूल्य समायोजनको स्पष्ट व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै संघले असन्तुष्टि जनाएको छ। निर्माण व्यवसायीहरूले पटक–पटक सरकारसमक्ष आग्रह गर्दा समेत सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
व्यवसायीहरूले बैंकको उच्च ब्याजदर, मजदुर खर्च, उपकरण सञ्चालन तथा प्रशासनिक खर्च धान्न नसक्ने अवस्था आएको बताएका छन्। सरकारले समयमै समस्या समाधान नगरे निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने चेतावनी संघले दिएको छ।
नेपाल निर्माण व्यवसायी संघ पर्साका सञ्जय पटेलले देशव्यापी कार्यक्रमअन्तर्गत पर्सामा पनि प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको जानकारी दिए। उनले निर्माण व्यवसायीहरूको जायज मागप्रति सरकार गम्भीर बन्नुपर्ने भन्दै माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।
संघले निर्माण सामग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न, मूल्य समायोजन तत्काल लागू गर्न र निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ। साथै, माग बेवास्ता गरिए जिल्लाभरका सम्पूर्ण निर्माण कार्य स्वतः बन्द गर्न बाध्य हुने चेतावनी समेत दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

