बिनोद निगम / नवलपरासी ३१ वैशाख
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था पुनः बहसको विषय बनेको छ। केही विद्यालयले उत्साहजनक नतिजा ल्याए पनि अधिकांश सामुदायिक विद्यालयको प्रदर्शन कमजोर देखिएको छ।
सार्वजनिक विवरणअनुसार न्यू सनराइज माध्यमिक विद्यालयले गाउँपालिकाभित्र सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका ८४.२१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय, विजयपुर दोस्रो स्थानमा रहेको छ, जहाँ ७३.३३ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।
तर पाल्हीनन्दन गाउँपालिका-१ स्थित बालशिक्षा निकेतन माध्यमिक विद्यालयको अवस्था भने अत्यन्त निराशाजनक देखिएको छ। उक्त विद्यालयका परीक्षामा सहभागी सबै ३५ जना विद्यार्थी एनजीमा परेका छन्। एउटासमेत विद्यार्थीले ग्रेड प्राप्त गर्न नसक्नुले विद्यालयको शिक्षण सिकाइ प्रणालीमाथि गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ।
त्यस्तै सिद्धार्थ मावि कुश्मा, राधाकृष्ण मावि, राज नारायण मावि गेर्मी, शुक्रदेव मावि, जनता मावि तथा हरपुर मावि लगायतका सामुदायिक विद्यालयको नतिजा पनि अपेक्षाअनुसार आउन सकेको छैन।
नतिजापछि अभिभावक तथा स्थानीयवासीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्। नियमित अनुगमन, शिक्षकको जिम्मेवारी सुनिश्चितता तथा प्रभावकारी शिक्षण सिकाइको वातावरण आवश्यक रहेको उनीहरूको भनाइ छ।
गरिब तथा विपन्न परिवारका बालबालिका सामुदायिक विद्यालयमै पढ्न बाध्य छन्, तर कमजोर शिक्षाका कारण उनीहरूको भविष्य अन्योलमा पर्न थालेको छ,एक अभिभावकले गुनासो गरे।
स्थानीयवासीले शिक्षा क्षेत्रमा नीति र कार्यक्रमभन्दा व्यवहारिक सुधार आवश्यक रहेको बताएका छन्। विद्यालयको नियमित मूल्यांकन, विद्यार्थीको आधारभूत सिकाइ क्षमता अभिवृद्धि तथा शिक्षक–विद्यार्थीको उत्तरदायित्व बढाउन गाउँपालिकाले विशेष पहल गर्नुपर्ने माग गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

