Rashtriya Dainik

नेपालीदेखि भोजपुरी फिल्मसम्म ध्रुव कोइरालाको अभिनय यात्रा, ४० वर्षको अनुभव

राष्ट्रिय दैनिक / काठमाडौं ,२९ बैशाख

नेपाली चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय अभिनेता ध्रुव कोइरालाले नेपाली, भोजपुरी, हिन्दी र मैथिली भाषाका करिब चार सय फिल्ममा अभिनय गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।

तराईको रौतहट जिल्लामा जन्मिएका कोइरालाले भाषागत विविधताकै कारण विभिन्न भाषाका फिल्ममा सहज रूपमा अभिनय गर्न सफल भएको बताउँछन्। हाल काठमाडौंको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ स्थित साना गाउँमा बसोबास गर्दै आएका उनी विगत ४० वर्षदेखि कला क्षेत्रमा निरन्तर सक्रिय छन्।

उनले आफ्नो अभिनय यात्रा रंगमञ्च र टेलिचलचित्र (सानोभुल) बाट सुरु गरेका थिए। पहिलो चलचित्र ‘लडाइ’ मा खलनायक ग्याङको भूमिकाबाट फिल्म क्षेत्रमा प्रवेश गरेका कोइरालाले त्यसपछि नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफल फिल्ममा अभिनय गरे।

विशेषगरी अहंकार, लंका र हवल्दार सुन्तली जस्ता चर्चित चलचित्रमार्फत दर्शकमाझ उनी अझ परिचित बने। हिन्दी फिल्म “यारीया”मा समेत अभिनय गरेका उनले भोजपुरी क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेका छन्।

भोजपुरी भाषाको पहिलो फिल्म ‘प्रेम गीत’ बाट सुरु भएको यात्रा अहिले ४० भन्दा बढी भोजपुरी फिल्मसम्म पुगेको छ।

कोइरालाका अनुसार भोजपुरी फिल्मबाट समेत आफूले राम्रो प्रतिक्रिया र माया पाएका छन्। “जस्तोसुकै सिन पाए पनि त्यसलाई प्रभावशाली बनाउने प्रयास गर्छु,” उनले भने।
नेपाली चलचित्र उद्योगबारे बोल्दै उनले अहिलेको नेपाली फिल्म क्षेत्र पहिलाको तुलनामा धेरै अगाडि बढेको बताए। “फिल्म मेकिङ राम्रो भएको छ, कलाकारहरू पनि परिस्कृत भएर आएका छन्। अब नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा अझै अगाडि बढ्नुपर्छ,” उनले धारणा राखे।

नेपाली फिल्म क्षेत्रलाई सुझाव दिँदै उनले कथावस्तुमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। “फिल्म राम्रो बन्ने आधार नै कथा हो। कथामा गहिराइ भयो भने नेपाली फिल्मले अझ ठूलो सफलता पाउन सक्छ,” उनले बताए।

उनका अनुसार उत्कृष्ट कलाकार बन्नका लागि सबैभन्दा ठूलो गुण भनेको कथाअनुसार आफूलाई ढाल्न सक्ने क्षमता हो। “कलाकारले जुन भूमिका पाए पनि त्यसमा पूर्ण रूपमा ढल्न सक्नुपर्छ,” कोइरालाको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित