अनिल बनिया/ नवलपरासी , २७ वैशाख
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
आज शनिबार साँझ करिब ६:२५ बजे पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ७ ख ५२६० नम्बरको बस अनियन्त्रित भई सडकको दाहिने किनारामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल, बर्दघाट पठाएको जनाएको छ।
बसमा चालकसहित ३१ जना यात्रु सवार रहेका थिए। दुर्घटनापछि राजमार्ग अवरुद्ध नभएको र अन्य यात्रुहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ। बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–७ निवासी ३८ वर्षीय दीपक धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा कास्की पोखरा महानगरपालिका–१५ निवासी ४५ वर्षीय युवराज पौडेल, बर्दघाट–१३ धनेवाका ७८ वर्षीय शोभाखर चापागाईं, कैलाली गौरीगंगा–९ निवासी ६८ वर्षीया पुनी कडायत लगायत घाइते भएका छन्। अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने केहीको छाती तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको बताइएको छ।
घाइतेमध्ये एक जना इजरायली नागरिक २१ वर्षीया LIHI RUBEN समेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

