राष्ट्रिय दैनिक / नवलपरासी , २४ वैशाख ।
पश्चिम नवलपरासीका तीन स्थानीय तहमा बालमैत्री तथा समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले “बालमैत्री तथा समावेशी शिक्षाका लागि विद्यालयको वातावरण सुधार कार्यक्रम” सुरु गरिएको छ।
जापान सरकारको आर्थिक सहयोगमा चाइल्डफण्ड जापान र इन्द्रेणी सामाजिक विकास मञ्चको साझेदारी तथा स्थानीय तहको समन्वयमा सञ्चालन हुने परियोजनाअन्तर्गत सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकाका १२ सामुदायिक विद्यालय समेटिएका छन्। परियोजना तीन वर्षसम्म सञ्चालन हुनेछ।

परियोजनाको पहिलो चरण सरावल गाउँपालिकाबाट सुरु गरिएको छ। बुधबार आयोजित प्रारम्भिक बैठकमार्फत सरोकारवालालाई कार्यक्रमबारे जानकारी गराइएको हो।
चाइल्डफण्ड जापान नेपाल कार्यालयका परियोजना व्यवस्थापक मनोज कुमार थारुका अनुसार कार्यक्रमबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत दुई हजार १९ विद्यार्थी, ७६ शिक्षक तथा विद्यालय व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघका ७८ सदस्य प्रत्यक्ष लाभान्वित हुनेछन्।

परियोजनाको मुख्य उद्देश्य विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य बढाउँदै बालबालिकाका लागि सुरक्षित, समावेशी र गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्नु रहेको जनाइएको छ। यसले विद्यालयमा पहुँच वृद्धि, विद्यार्थी सहभागिता विस्तार तथा शिक्षण सिकाइको गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
पहिलो वर्ष सरावल गाउँपालिकाका चार विद्यालयमा कार्यक्रम सञ्चालन हुनेछ। जनता आधारभूत विद्यालय सरावल–५ धनगढवा, विनोद निता कँडेल आधारभूत विद्यालय सरावल–५, जनता माध्यमिक विद्यालय सरावल–६ र महेन्द्र जनता माध्यमिक विद्यालय सरावल–६ छनोट भएकाे कार्यक्रम प्रबन्धक बिना चाैधरीले जानकारी दिनुभएको हाे।

इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यका अनुसार जनता आधारभूत विद्यालय धनगढवामा शिक्षक तथा अभिभावकको क्षमता विकाससँगै भौतिक पूर्वाधार निर्माणसमेत गरिनेछ। चाइल्डफण्डका इन्जिनियर दुर्गा ढकालले ६ कोठे भवन निर्माण, कक्षाकोठा व्यवस्थापन सुधार, लैङ्गिक तथा समावेशीमैत्री शौचालय र ६ धारासहित सुरक्षित खानेपानी व्यवस्था गरिने जानकारी दिनुभयो। अन्य तीन विद्यालयमा बालमैत्री शिक्षण विधि र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन समिति र अभिभावकको सहभागितामा वार्षिक विद्यालय सुधार योजना तयार गरी कार्यान्वयन गरिने जनाइएको छ। इन्द्रेणी सामाजिक विकास मञ्चकी परियोजना संयोजक बीना चौधरीका अनुसार यसले विद्यालयप्रति समुदायको अपनत्व बढाउनुका साथै विद्यार्थीका लागि सुरक्षित र सहज सिकाइ वातावरण निर्माण गर्न सहयोग पुर्याउनेछ।
सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले परियोजनालाई नमूना कार्यक्रमका रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीका प्रमुख महेन्द्र सुवेदीले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, शिक्षक र अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

इन्द्रेणी सामाजिक विकास मञ्चकी अध्यक्ष धनमति सापकोटाले सबै पक्षको सहकार्यमा परियोजनालाई सफल बनाइने बताउनुभयो। सरावलमा पहिलो वर्ष सञ्चालनपछि दोस्रो वर्ष प्रतापपुर गाउँपालिका र तेस्रो वर्ष बर्दघाट नगरपालिकामा कार्यक्रम विस्तार गरिनेछ। यसअघि यस्तै परियोजना सिन्धुपाल्चोक र गोरखामा कार्यान्वयन भइसकेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

