बिनोद निगम/ नवलपरासी , २२ वैशाख
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहसम्म संगठन विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गरेको वडा भेला कार्यक्रम सम्पन्न भएको छ। केही दिनअघिदेखि सुरु गरिएको उक्त अभियान अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडामा भेला आयोजना गरी संगठन सुदृढीकरण गरिएको हो।
पालिका सभापति गुड्डु गुप्ताका अनुसार वडा नं. १ मा आयोजित भेलासँगै सम्पूर्ण वडा भेला कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो। उनले अभियानमार्फत पार्टीलाई गाउँ–गाउँसम्म पुर्याउने, नयाँ सदस्य थप्ने र स्थानीयस्तरमा सक्रिय नेतृत्व विकास गर्ने लक्ष्य राखिएको बताए।
भेलाले प्रत्येक वडामा तदर्थ समिति गठन गरेको छ। जसअनुसार वडा नं. १ मा राजेश बनिया, वडा नं. २ मा हरिशंकर मिश्र, वडा नं. ३ मा मकबुल अहमद अन्सारी, वडा नं. ४ मा मोहित ठाकुर, वडा नं. ५ मा दामोदर वर्मा सोनार र वडा नं. ६ मा मुकेश तिवारीलाई वडा सभापतिको जिम्मेवारी दिइएको छ।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको बताइएको छ। सहभागीहरूले पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे छलफल गर्दै स्थानीय समस्याहरूको पहिचान र समाधानका विषयमा पनि धारणा राखेका थिए।

पालिका सभापति गुप्ताले वडा तहमा संगठन मजबुत बनाउँदै जनताको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा थप सक्रिय रूपमा पार्टीका कार्यक्रम अघि बढाइने बताए। उनले स्थानीय तहमा सुशासन, पारदर्शिता र विकासका मुद्दामा पार्टी केन्द्रित रहने पनि स्पष्ट पारे।
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तारलाई तीव्रता दिइरहेका बेला पाल्हिनन्दन गाउँपालिकामा सम्पन्न वडा भेला कार्यक्रमलाई संगठन विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

