राष्ट्रिय दैनिक / नवलपरासी, ४ वैशाख
समाजका हरेक गतिविधिलाई आमनागरिकसम्म पुर्याउँदै सूचना प्रवाहको जिम्मेवारी वहन गर्दै आएको उमंग मिडिया प्रा.लि.द्वारा सञ्चालित राष्ट्रिय दैनिकले प्रकाशन गरेको “भित्तेपात्रो–२०८३” एक विशेष समारोहका बीच भव्य रूपमा विमोचन गरिएको छ।

राष्ट्रिय दैनिकका सञ्चालक उमेश कुमार बि.कको अध्यक्षता तथा त्रिभुवन क्याम्पस बेलाटारीका अध्यक्ष अमुल्य कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भित्तेपात्रो विमोचन गर्दै प्रमुख अतिथि पाण्डेयले मिडियाले समाजमा व्याप्त विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सत्य, निष्पक्षता र जिम्मेवारी पत्रकारिताको मूल आधार भएको उल्लेख गर्दै मिडियाले समाज रूपान्तरणमा अग्रणी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी त्रिभुवन क्याम्पस बेलाटारीका निमित्त क्याम्पस प्रमुख राम प्रसाद भट्टराईले पत्रकारिता निष्पक्ष, तथ्यपरक र न्यायसंगत हुनुपर्ने बताउँदै यथार्थपरक समाचारले मात्र समाजलाई सही दिशा दिन सक्ने स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै गुठीप्रसौनी आयुर्वेद औषधालयका प्रमुख दिनबन्धु मिश्राले मिडियाकर्मीहरूको जीवन संघर्षपूर्ण र चुनौतीले भरिएको उल्लेख गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले सत्य उजागर गर्ने यात्रामा पत्रकारहरूले अनेक कठिनाइ भोग्नुपरे पनि उनीहरू कहिल्यै विचलित नहुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन क्याम्पसका अध्यक्ष आदित्य गडेरी पालले युवा पुस्तालाई सचेत बनाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय दैनिकको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो।

बिराट राज लगायत अन्य वक्ताहरूले पनि मिडियाले समाजको ऐना बनेर काम गर्नुपर्ने, जनताको आवाजलाई सशक्त रूपमा उठाउनुपर्ने र सत्य तथ्यलाई निर्भीकतापूर्वक उजागर गर्नुपर्नेमा जोड दिएका थिए।

राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक आरपी उपाध्यायले सञ्चार क्षेत्रको विश्वसनीयता र उत्तरदायित्वबारे प्रकाश पार्दै यस्ता प्रकाशनहरूले समाजमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। उहाँले आगामी दिनमा अझ गुणस्तरीय सामग्री प्रस्तुत गर्दै पाठकको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सुरुवात प्रबन्ध निर्देशक उपाध्यायको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन संजय कुशवाहाले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भित्तेपात्रो विमोचनको अवसरमा प्रबन्ध निर्देशक आरपी उपाध्याय, सम्पादक संजय कुशवाहा तथा भिडियो सम्पादक विनोद निगमलाई सम्मानित समेत गरिएको थियो।

कार्यक्रमले सञ्चार क्षेत्रको महत्व, चुनौती र जिम्मेवारीबारे गहन छलफल गर्दै मिडियालाई अझ सशक्त, जिम्मेवार र जनमुखी बनाउन प्रेरणा दिएको सहभागीहरूको भनाइ रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

