Rashtriya Dainik

कालिकामाई–५ मा स्वास्थ्य सेवामा नयाँ आयाम: बिरंचीबर्वा स्वास्थ्य चौकीको नयाँ भवनमा ओपिडी सेवा सुरु

राजन कुमार बानिया /पर्सा, ४ बैशाख

पर्साको कालिकामाई गाउँपालिका वडा नं. ५ स्थित बिरंचीबर्वा स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आजदेखि ओपिडी (OPD) सेवा सञ्चालनमा आएको छ। वडाध्यक्ष जयनारायण प्रसाद कुर्मीले विधिवत् फिता काटेर सेवाको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कुर्मीले स्वास्थ्यकर्मीहरूलाई समयमै गुणस्तरीय सेवा दिन आग्रह गर्दै जनताको स्वास्थ्य सेवा प्राथमिक दायित्व भएको बताउनुभयो। उहाँले भने, “यहाँको सेवा प्रभावकारी भएमा स्थानीयलाई महँगो उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्नेछ।” साथै, स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरमार्फत जटिल उपचारसमेत सम्भव भएको जानकारी दिनुभयो।

हाल स्वास्थ्य चौकीमा महिलाहरूका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा, ईसिजी सेवा तथा दक्ष एएनएमहरूको व्यवस्था गरिएको छ। आवश्यक औषधि र उपकरणका लागि गाउँपालिका र वडा कार्यालयबाट बजेट विनियोजन गरिएको पनि उहाँले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि दिब्य युवा क्लबका कोषाध्यक्ष देवनाथ ठाकुरले बिरंचीबर्वा स्वास्थ्य चौकीलाई नमुना स्वास्थ्य संस्थाका रूपमा उल्लेख गर्दै राम्रो सेवाले बिरामीको आकर्षण बढ्ने र बाहिर उपचार गराउने खर्च घट्ने बताउनुभयो।
एमबीबीएस डाक्टर तेजनाथ तिवारीले गाउँमै सेवा गर्न पाउँदा खुसी लागेको बताउँदै दलित, गरिब तथा अशक्त समुदायलाई प्राथमिकतामा राखेर सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिका स्वास्थ्य संयोजक धिरज साहले स्वास्थ्य चौकीहरूमा आवश्यक सेवा–सुविधाको कमी हुन नदिने र एम्बुलेन्स सेवामा अक्सिजनलगायत सबै व्यवस्था सुनिश्चित गरिएको जानकारी दिनुभयो।
कार्यक्रम वडाध्यक्ष कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवनिर्मित भवनमा ओपिडी सेवा सुरु भएसँगै अब स्वास्थ्य चौकीमा बिरामी भर्ना सेवा समेत सञ्चालन हुने स्वास्थ्य प्रमुख शान्त प्रसाद कम्करले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित