राजन कुमार बानिया /पर्सा, ४ वैशाख
पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य टेकबहादुर शाक्य ले भारतबाट आयात हुने दैनिक उपभोग्य सामग्रीमा लाग्दै आएको भन्सार समस्यालाई लिएर उच्चस्तरीय पहल थालेका छन्।
यसै क्रममा उनले रवि लामिछाने तथा गृहमन्त्री सुदन गुरुङ सँग भेटघाट गरी सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्याबारे विस्तृत जानकारी गराएका हुन्।
भेटका क्रममा विशेषगरी भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउँदा लाग्ने भन्सार शुल्कका कारण सर्वसाधारणमा परेको असरबारे गम्भीर छलफल भएको सांसद शाक्यले जानकारी दिए। सीमावर्ती बासिन्दाले दैनिक उपभोगका सामग्री ल्याउँदा अनावश्यक झन्झट र अतिरिक्त आर्थिक भार व्यहोर्नुपरेको विषय उनले उठाएका थिए।
छलफलमा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील साह कानु पनि सहभागी थिए। सहभागी नेताहरूले सीमा क्षेत्रमा देखिएका यस्ता व्यावहारिक समस्याको समाधानका लागि नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।
सांसद शाक्यका अनुसार छलफल सकारात्मक दिशातर्फ अघि बढेको छ र सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै व्यावहारिक समाधान निकाल्ने प्रयास भइरहेको छ। उनले सरकारले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे।
साथै, उनले आफ्ना क्षेत्रबासीलाई संयम र धैर्य अपनाउन आग्रह गर्दै समस्या चाँडै समाधान हुनेमा आशावादी रहन आग्रह गरेका छन्। सीमावर्ती नागरिकको सहज जीवनयापन सुनिश्चित गर्न आफू निरन्तर सक्रिय रहने पनि उनले स्पष्ट पारे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

