राष्ट्रिय दैनिक / नवलपरासी ,३० चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको आयोजना तथा आइडियल इन्जिनियरिङ सर्भिसेज प्रा.लि.को सहकार्यमा मिस्त्रीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको ७ दिने भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री भवन निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ।

गाउँपालिकाभित्रका ६० जना निर्माण ठेकेदार, मिस्त्री तथा श्रमिकहरूको सहभागिता रहेको उक्त तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै पक्ष समेटिएको थियो। तालिममार्फत निर्माण क्षेत्रमा संलग्न जनशक्तिको दक्षता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

तालिममा इन्जिनियरहरू अरुण अर्याल र अजय यादवसहित गाउँपालिकाको पूर्वाधार विकास शाखाका इन्जिनियर तथा सब-इन्जिनियरहरूले प्रशिक्षण प्रदान गरेका थिए।

गत १८ गते ओरियन्टेसन कार्यक्रमसँगै सुरु भएको तालिम २४ गतेदेखि नियमित रूपमा सञ्चालन भई ३० गते एक समारोहबीच समापन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, वरिष्ठ लेखा अधिकृत, प्रशिक्षकहरू, प्रशिक्षार्थी तथा अन्य जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री भवन निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय जनशक्तिको दक्षता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिममा सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गर्दै सुरक्षित र दिगो पूर्वाधार निर्माणमा सबैले जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

तालिमका सहभागी धनबहादुर श्रेष्ठ, रामबहादुर विक लगायतले तालिमबाट प्राप्त सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

