राष्ट्रिय दैनिक / नवलपरासी ,१० चैत
नेपाली कांग्रेसभित्र निर्वाचन आचारसंहिता उल्लंघन र अन्तरघातको आरोप झन् चर्किएको छ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य पदकी समानुपातिक उम्मेदवार सुनिता सुवेदी श्रेष्ठले केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गर्दै जिल्ला सभापति अर्जुन कुमार पोख्रेलसहित ११ जना नेता तथा कार्यकर्ताविरुद्ध कारबाहीको सिफारिस गरेकी छन्।
उजुरीमा प्रत्यक्षतर्फका उम्मेदवार भीम बहादुर थापा लगायतले पार्टी नीति विपरीत गतिविधि गरेको आरोप लगाइएको छ।
प्रचारका क्रममा समानुपातिकतर्फ मत नमागी एकल रूपमा केन्द्रित भएको, घरदैलो तथा कोणसभामा पार्टीको आधिकारिक लाइन विपरीत गतिविधि भएको र ‘क्रस भोट’ प्रोत्साहन गरिएको दाबी गरिएको छ।
कारबाही सिफारिस गरिएका व्यक्तिहरूमा:
१.राधेश्याम पाठक – केन्द्रीय सदस्य
२.अर्जुन कुमार पोख्रेल – जिल्ला सभापति
३.यमलाल पाण्डे – जिल्ला सदस्य
४.झविन्द्र ज्ञवाली – जिल्ला सदस्य
५.गोविन्द ढकाल – आमन्त्रित जिल्ला सदस्य (अनुशासन समिति संयोजक)
६.भोजराज चापागाई – जिल्ला अध्यक्ष, शिक्षक संघ
७.यम प्रसाद भुसाल – प्रदेश (२ क) सभापति
८.ज्योति ढकाल – महाधिवेशन प्रतिनिधि
९.यज्ञ प्रसाद पौडेल – महाधिवेशन प्रतिनिधि
१०.दिनेशमणी पटेल – क्रियाशील सदस्य
११.भीम बहादुर थापा – प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार
यसैबीच क्षेत्रीय सभापतिहरूले केन्द्रमा बुझाएको प्रतिवेदनमा उम्मेदवार भीम बहादुर थापाको पराजयका २३ बुँदे कारण र प्रमाण पेश गरिएको छ।
प्रतिवेदन अनुसार थापाले दोहोरो टिकट ल्याउने प्रयास गरेको, उनका निकटवर्तीहरूले नै निर्वाचन वातावरण कमजोर बनाएको तथा देवेन्द्रराज कण्डेलले टिकट पाउने हल्ला पुष्टि जस्तै गरी फैलाइँदा सुरुदेखि नै ‘घण्टी’ चुनाव चिह्नको माहोल तयार पारिएको उल्लेख छ।
प्रतिवेदनमा भरत थापा निकट समर्थक, पारिवारिक सदस्य तथा सचिवालयका अधिकांश सदस्यहरू पूर्वतयारीसहित ‘घण्टीमय’ वातावरण बनाउन सक्रिय रहेको दाबी गरिएको छ। साथै केन्द्रीय सदस्य राधेश्याम पाठकको अभिव्यक्ति र उनका सुपुत्रका सामाजिक सञ्जाल पोस्टहरू समेत प्रमाणका रूपमा केन्द्रीय कार्यालयमा दर्ता गरिएको जनाइएको छ।
उजुरीकर्ताले ती सबैले पार्टी निर्देशन उल्लंघन गर्दै मतदातालाई प्रभावित पारेको, समानुपातिक उम्मेदवारलाई बेवास्ता गरेको र पार्टी एकता कमजोर बनाएको आरोप लगाएकी छन्।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले यस विषयमा छानबिन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। पार्टीभित्र देखिएको अन्तरविरोधले आगामी दिनमा संगठनात्मक संकट थप गहिरिने संकेत देखिएको छ।





















राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

