कन्चनपुर , १९ फागुन
कञ्चनपुरमा छुट्टाछुट्टै घटनामा एक निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको हो।
लालझाडी गाउँपालिका–३ बल्मी घर भएका राना सोमबार राति खाना पकाउने क्रममा बेहोस भएका थिए। उनलाई उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल लगिएकोमा आज निधन भएको प्रहरीले जनाएको छ। राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको जानकारी दिइएको छ।
यसैगरी बेदकोट नगरपालिका–७ गाउजीबाट सुडातर्फ आउँदै गरेको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको छ।
गम्भीर घाइते भएका चौधरीलाई धनगढीस्थित मायामेट्रो अस्पताल पुर्याइए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। दुवैको धनगढीमै उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

