राष्ट्रिय दैनिक / नवलपरासी ,१० फागुन
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामप्रसाद पाण्डे यतिबेला नवलपरासी क्षेत्र नम्बर १ का गाउँ–टोलमा भेटिन्छन्—भाषणको मञ्चभन्दा बढी, किसानको खेतबारी र युवाको चिया पसलमा।
“यो क्षेत्रलाई मैले टाढाबाट हैन, नजिकबाट बुझेको छु,” चुनावी भेटघाटका क्रममा उनले भने, “सुस्ताको पीडा, सम्भावना र सपना मसँगै हुर्किएका छन्।”

पाण्डे यसअघि सुस्ता गाउँपालिकाको अध्यक्ष थिए। सीमित स्रोत–साधन र अधिकारका बाबजुद स्थानीय तहमा देखिने विकास गर्न सफल भएको दाबी गर्दै उनले त्यसकै आधारमा राज्यबाट पदकसहित सम्मानित भएको स्मरण गरे।
“त्यो बेला अधिकार सीमित थिए, अहिले सदनमार्फत नीति निर्माणको तहमा पुगेर यो क्षेत्रको आवाज बुलन्द गर्न चाहन्छु,” उनले स्पष्ट पारे, “सुस्तामाथि फरक नजर र भाष्य बनाउनुपर्छ। सम्भावनाले भरिएको यो क्षेत्रलाई विकासको मुख्यधारमा ल्याउनैपर्छ।”

नवलपरासी जिल्लाको क्षेत्र नम्बर १ प्राकृतिक, सांस्कृतिक र सीमावर्ती विशेषताका कारण पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो। तर सम्भावना नक्सामै सीमित छ।
पाण्डेको धारणा छ—ठूला आश्वासन होइन, साना तर दिगो योजना आवश्यक छन्। “पर्यटनसँग रोजगारी जोड्न सके युवा विदेशिनु पर्ने बाध्यता घट्छ। स्थानीय स्रोत र पहिचानलाई नै अर्थतन्त्रको आधार बनाउनु पर्छ,” उनले भने।

यो क्षेत्रका उखु किसान, केरा उत्पादक तथा साना कृषकहरूको समस्या पुरानै छ—मूल्य, बजार, भुक्तानी र नीतिगत अन्योल। पाण्डेले कृषि क्षेत्रमा राज्यले अर्बौं खर्च गरे पनि पारदर्शिता र लक्षित नीति अभावमा वास्तविक किसान समेटिन नसकेको आरोप लगाए।
“अब छुट्टै किसानमैत्री नीति आवश्यक छ। कागजमा होइन, खेतमा देखिने परिवर्तन चाहिन्छ,” उनले जोड दिए। कृषि र पर्यटनलाई नै आफ्नो मुख्य प्राथमिकता बनाउने घोषणा गर्दै उनले शिक्षा, स्वास्थ्य र आधारभूत सेवामा पनि समान ध्यान दिने बताए।

चुनावी भीडबीच पाण्डेले भावुक हुँदै भने, “म उम्मेदवार नहुँदै पनि दिनहुँ यहीका नागरिकसँग ठोक्किने मान्छे हुँ। यही माटोले हुर्काएको हो, यही माटोमा कर्म गरेको छु। केही गर्नुपर्छ भन्ने हुटहुटी छ।”
उनले ठूला–ठूला आश्वासन नदिने स्पष्ट पारे। “अझै धेरै नागरिक आधारभूत आवश्यकता बाट वञ्चित छन्। ती वर्ग र समुदायका लागि केही गर्न सक्छु भन्ने आत्मविश्वास छ। अन्तिम निर्णय जनताकै हातमा छ—तर विश्वास, भरोसा र आशा लिएर म अघि बढेको छु।”

नवलपरासी–१ मा चुनावी सरगर्मी बढ्दै जाँदा, पाण्डेले आफ्नो अभियानलाई ‘माटोसँग जोडिएको प्रतिबद्धता’को रुपमा प्रस्तुत गरेका छन्। अब हेर्न बाँकी छ—यो प्रतिबद्धतालाई मतदाताले कत्तिको विश्वास
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

