Rashtriya Dainik

राष्ट्रिय स्वतन्त्र पार्टीमा टिकट विवाद चर्कियो : वडा सभापतिको राजीनामा, संगठनभित्र असन्तुष्टि

राष्ट्रिय दैनिक /नवलपरासी,८ फागुन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको छ। बर्दघाट नगरपालिका–१३ का वडा सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्।

फागुन २१ गते हुने आम निर्वाचनका लागि नवलपरासी (बसुप) क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसमा राजनीति गर्दै आएका बिक्रम खनाल लाई रास्वपाले टिकट दिएपछि हरिजन असन्तुष्ट बनेका हुन्। उनले राजीनामापत्रमा विभिन्न कारण उल्लेख गरे पनि, निकट स्रोतका अनुसार टिकट वितरण प्रक्रियाप्रति असहमति नै मुख्य कारण रहेको बताइएको छ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका महेन्द्र सेन ठकुरी ले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। कठिन परिस्थितिमा चुनाव लड्दै पार्टीलाई जिल्लामा स्थापित गर्न उनले योगदान दिएको भन्दै स्थानीय पंक्तिमा यसपटक पनि उनलाई नै टिकट दिनुपर्ने धारणा बलियो थियो। तर अन्तिम समयमा खनाललाई उम्मेदवार बनाइएपछि मूल समूह असन्तुष्ट बनेको छ। असन्तुष्ट कार्यकर्ताहरूले “संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पन्छाएर बाहिरबाट आएका व्यक्तिलाई प्राथमिकता दिइनु अपमानजनक” भएको प्रतिक्रिया दिएका छन्।

यस निर्णयमा पार्टी उपाध्यक्ष स्वर्णिम वाग्ले को भूमिका रहेको चर्चा समेत चलेको छ। वाग्ले र खनालबीचको व्यक्तिगत सम्बन्धलाई टिकट वितरणमा प्रभाव पारिएको आरोप असन्तुष्ट समूहले लगाएको छ।

कार्यकर्ताहरू भन्छन्, “टिकट वितरणको प्रक्रियाले रास्वपालाई पनि पुरानै दलजस्तो बनाएको छ। महेन्द्र सेन ठकुरीमाथि अन्याय गरिएको छ, यस्तो प्रवृत्तिले पार्टीको पहिचान नै संकटमा पर्न सक्छ।”

टिकट विवादकै कारण जिम्मेवार पदमा रहेका केही पदाधिकारीहरूले राजीनामा दिन थालेको स्रोतले जनाएको छ। पार्टी नेतृत्व भने यस विषयमा औपचारिक प्रतिक्रिया दिन मौन देखिएको छ।
नवलपरासीमा रास्वपाको आन्तरिक असन्तुष्टि निर्वाचनअघि नै सार्वजनिक भएपछि यसको प्रभाव मतपरिणाममा कस्तो पर्छ भन्ने विषय चासोका साथ हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित