राजन कुमार बानिया /पर्सा, ७ फागुन पर्सा क्षेत्र–४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य ले धोबिनी गाउँपालिका–३ हरिहरपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानका क्रममा शाक्यले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। कार्यक्रममा समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’ को नारा लगाएर वातावरण उत्साहपूर्ण बनाएका थिए। उम्मेदवार शाक्यले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै परम्परागत राजनीतिक अभ्यासबाट निराश जनताले अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राखे। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने सन्देश उनले दोहोर्याएका थिए। घरदैलोका क्रममा स्थानीय बासिन्दाले रोजगारी, सडक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत विषयमा चासो व्यक्त गरेका थिए। त्यसको जवाफ दिँदै शाक्यले क्षेत्रीय विकासलाई योजनाबद्ध र दीर्घकालीन रणनीतिअनुसार अघि बढाउने प्रतिबद्धता जनाए। पर्सा–४ मा विभिन्न दलका उम्मेदवारहरू घरदैलो तथा सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन्। चुनावी माहोल तातिँदै जाँदा मतदाताको निर्णयले नै आगामी राजनीतिक दिशा तय गर्नेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।