Rashtriya Dainik

नवलपरासीमा आन्तरिक विवाद अन्त्यपछि कांग्रेस चुनावी मोडमा

राष्ट्रिय दैनिक /नवलपरासी,१ फागुन

चुनाव नजिकिँदै जाँदा राजनीतिक दलहरू संगठन सुदृढीकरणमा सक्रिय देखिएका छन्। यसैबीच नेपाली कांग्रेस ले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य भएको दाबी गर्दै अबको ध्यान प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा केन्द्रित गरेको जनाएको छ।

निर्वाचन क्षेत्र नम्बर २ को चुनाव प्रचार समितिको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेता देवेन्द्रराज कँडेलले “घरभित्रको विषय घरमै सकिएको” उल्लेख गर्दै अब कांग्रेसको लडाइँ विपक्षीसँग हुने स्पष्ट पार्नुभयो।

“कांग्रेसभित्र देखिएको प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो। अब हामी एकताबद्ध भएर चुनावी मैदानमा उत्रिन्छौं।”


कँडेललाई केन्द्रीय समितिले जिल्लाका दुई निर्वाचन क्षेत्रको ‘निर्वाचन परिचालन संयोजक’को जिम्मेवारी दिएको छ। उहाँले सुधारिएको कांग्रेसले नै देश सुधार्ने दाबी गर्दै कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो।

कार्यक्रममार्फत केन्द्रीय सदस्य राधेश्याम पाठकले राजनीतिक विरासत जोगाउन एकता अपरिहार्य रहेको बताए।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले कांग्रेसको विकासमुखी भूमिकालाई जनताले मूल्याङ्कन गर्ने दाबी गरे।

क्षेत्रीय सभापति माधव पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टीभित्र कुनै आन्तरिक विवाद नरहेको र चुनाव जित्न एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कांग्रेसले क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत)लाई उम्मेदवार बनाएको छ।

चुनावी सरगर्मी बढेसँगै कांग्रेसले जिल्लामा संगठनात्मक एकता सुदृढ भएको सन्देश दिन खोजेको देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित