Rashtriya Dainik

बर्दघाट एक्सपोबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा

प्रकाश न्यौपाने / नवलपरासी ,माघ १३,

स्थानीय स्तरमा आयोजना गरिने मेला–महोत्सवले स्थानीय बस्तु तथा सेवाको बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्योग व्यापार संघ बर्दघाटद्वारा आयोजित ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ को उद्घाटन समारोहमा बोल्दै सरोकारवालाहरूले एक्सपोले स्थानीय उत्पादन र सेवाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

संघका अध्यक्ष तथा एक्सपो मूल आयोजक समितिका संयोजक राजु न्यौपानेको अध्यक्षता तथा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले उद्योग व्यापार संघ बर्दघाटले छोटो अवधिमै गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्नुभयो । उहाँले उद्योग र व्यापार देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै स्वदेशमै उद्योग तथा कलकारखाना स्थापना गर्न सके रोजगारी सिर्जना भई युवा पलायन रोक्न सकिने धारणा राख्नुभयो । आवश्यक परे नीतिगत सुधार गरेर भए पनि रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालनमा ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले एक्सपोले शिथिल अवस्थामा पुगेका स्थानीय व्यवसायीहरूको पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय महिला उद्यमीहरूको उत्पादन बजारीकरणका लागि उद्योग व्यापार संघसँगको सहकार्यमा निःशुल्क स्टल उपलब्ध गराइएको जानकारी दिनुभयो । त्यसैगरी, उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले एक्सपोले स्थानीय सरकार, व्यवसायी र उपभोक्तालाई समान रूपमा फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बाहिरबाट आयात हुने सामग्रीमा केही हदसम्म नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । खुला बजार नीतिले चुनौती सिर्जना गरे पनि स्थानीय उत्पादन संरक्षणका लागि कडा नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।

उद्घाटन समारोहमा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, सीजी फाउण्डेशनकी मेरिना रञ्जित, ग्रामिण साकोसका अध्यक्ष रविन्द्र विक्रम हमाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । “स्थानीय उद्योग र व्यापार, दिगो विकासको आधार” भन्ने मूल नाराका साथ सुरु भएको एक्सपोले स्थानीय व्यवसायी, कृषक तथा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
उद्घाटन अवसरमा आयोजित र्‍यालीमा विभिन्न विद्यालय, संघ–संस्था, आमा समूहसहित ३५ वटा समूहले आ–आफ्ना झाँकीसहित सहभागिता जनाएका थिए ।

१२ दिनसम्म सञ्चालन हुने एक्सपोमा करिब १ लाख दर्शकले अवलोकन गर्ने र ७ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । २५० वटा स्टल रहेको एक्सपोमा कृषि, लघु तथा महिला उद्यमीका उत्पादन, विभिन्न जातजातिका संस्कृति झल्कने प्रदर्शनी, बाल उद्यान तथा सांगीतिक कार्यक्रमसमेत समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले स्वागत मन्तव्यका क्रममा जानकारी दिनुभयो । स्थानीय सरकारका प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय व्यवसायी तथा संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण भण्डारीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित