माघीले रंगिएको मनरीः २० वर्षदेखि जोगिँदै आएको थारू संस्कृति

राष्ट्रिय दैनिक / नवलपरासी ,२ माघ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा श्रीराम युवा प्रतिष्ठानको आयोजनामा २० औं माघी खिचडी महोत्सव भव्य रूपमा सञ्चालन भइरहेको छ। बुधबारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन बिहीबार दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो।

प्रतिष्ठानका अध्यक्ष चक्रमणि चौधरीको अध्यक्षता तथा नेपाल सरकारका पूर्वमन्त्री ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री प्रधानले माघी पर्व थारू समुदायको मौलिक पर्व र सांस्कृतिक पहिचान भएको बताउनुभयो। उहाँले थारू समुदायलाई नेपालको धर्तिपूत्रको संज्ञा दिँदै उनीहरूको संस्कृति र परम्पराको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, पूर्व उपाध्यक्ष उत्तमा राय, सरावल–५ का पूर्व वडाध्यक्ष दिनेश सहानी, कवि हरिलाल यादव, नागरिक उन्मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, सरावल–२ का कार्यवाहक वडाध्यक्ष नरेन्द्र चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन नगेन्द्र चौधरीले गरेका थिए।

माघीको अवसरमा आयोजना गरिएको यस महोत्सवमा नवलपरासीसहित आसपासका जिल्ला तथा भारतबाट समेत दर्शक आएका छन्। करिब २० वर्षअघि सुरु गरिएको माघी मेला अहिले थारू समुदायको संस्कृति संरक्षण र पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बनेको थारू अगुवा राधेश्याम थारूले बताए।


महोत्सव स्थलमा थारू समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका सामग्रीको प्रदर्शनी, थारू संस्कृति झल्कने परम्परागत घर निर्माण तथा विभिन्न सांस्कृतिक गतिविधिहरू आकर्षणका रूपमा रहेका छन्।


तीन दिनसम्म सञ्चालन हुने २० औं माघी खिचडी महोत्सव शुक्रबार समापन गरिने आयोजक श्रीराम युवा प्रतिष्ठानले जनाएको छ।

Logo
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ।

jayabajarangi_itta_udhog