राष्ट्रिय दैनिक / नवलपरासी ,२ माघ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ दुबौलियामा श्री श्री १०८ श्री सतचण्डी महायज्ञ बिहीबारदेखि विधिवत् रूपमा शुभारम्भ भएको छ। महायज्ञ समिति अध्यक्ष सन्दीप यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भव्य कलशयात्रा सहित महायज्ञको औपचारिक सुरुवात गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले धार्मिक कार्यले व्यक्ति, परिवार र समाजलाई एकताबद्ध गर्ने बताउनुभयो। उहाँले महायज्ञबाट मानसिक, धार्मिक तथा आध्यात्मिक शान्ति प्राप्त हुने उल्लेख गर्दै संस्कार र संस्कृतिको संरक्षण तथा विकासमा यस्ता धार्मिक अनुष्ठानको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमती हरिजन, समाजसेवी अनिल गोड लगायतले पनि महायज्ञले सामाजिक सद्भाव, नैतिकता र सकारात्मक सोचको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो। महायज्ञमा सरावल–६ का वडाध्यक्ष छोटेलाल गुप्ता, सरावल–५ का निवर्तमान वडाध्यक्ष दिनेश सहानी, सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादव, समाजसेवी जन्मेजय यादव, वडा सदस्य सुधव सहानी, समाजसेवी बालमुकुन्द चौधरी, रोहित गोड लगायत स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सरावल–५ का वडाध्यक्ष लक्ष्मण प्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन **उमेश बी.के.**ले गर्नुभएको थियो।