काठमाडौं ,२९ पुस भोजपुरी फिल्म उद्योगमा नेपाली निर्देशक रमेश बोगटी आज सशक्त, मेहनती र भरोसायोग्य नामका रूपमा स्थापित हुँदै गएका छन्। निरन्तर मेहनत, फरक सोच र मौलिक कथावस्तु प्रस्तुत गर्ने क्षमताका कारण बोगटीले भोजपुरी सिनेमामा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। यही यात्रालाई थप उचाइ दिँदै उहाँको निर्देशनमा बनेको सन्थाली भाषाको फिल्म ‘अर्जुन २’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शक र चलचित्रकर्मीबीच सकारात्मक चर्चा सुरु भएको छ। सार्वजनिक ट्रेलरले एक्सन, भावना र संस्कृतिको सन्तुलित संयोजन प्रस्तुत गर्दै निर्देशक बोगटीको दृश्य भाषामा मजबुत पकड, कथावाचनको गहिराइ र प्राविधिक सचेतता स्पष्ट देखाएको छ। आदिवासी तथा सन्थाली समुदायको जीवन, संघर्ष, प्रेम र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखिएको ‘अर्जुन २’ ले क्षेत्रीय सिनेमामा प्रायः ओझेलमा परेका कथालाई मुख्यधारमा ल्याउने साहसिक प्रयास गरेको निर्माण पक्षको दाबी छ। चलचित्रमा राज दा (पियूष आर्य), मसूम सिंह, सचिन्द्र हेम्ब्रम र अनमोल जीको अभिनयलाई निर्देशक बोगटीले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। निर्माता कुन्दन कुमार यादव, लेखक तथा पटकथाकार ए.बी. मोहन, छायाकार हरि बीडीआर लामा र एक्सन निर्देशक श्री श्रेष्ठसहितको बलियो टिमवर्कले फिल्मलाई प्राविधिक रूपमा समेत सबल बनाएको छ। भोजपुरी सिनेमामा राम्रो पकड जमाइसकेका रमेश बोगटी सिर्फ निर्देशक मात्र नभई, सिनेमाको माध्यमबाट संस्कृति र पहिचान जोगाउने अभियानकर्ताका रूपमा पनि परिचित हुँदै गएका छन्। ‘अर्जुन २’ मार्फत उहाँले मनोरञ्जनसँगै सामाजिक सन्देश दिन सकिने सिने–दृष्टिकोणलाई थप सुदृढ गर्ने प्रयास गर्नुभएको छ। ट्रेलर सार्वजनिक भएसँगै ‘अर्जुन २’ प्रति दर्शकको उत्साह उल्लेखनीय रूपमा बढेको छ। धेरैले यस फिल्मलाई सन्थाली सिनेमामा नयाँ सोच र नयाँ धारको प्रतिनिधि कृतिका रूपमा हेरेका छन्। यसले निर्देशक रमेश बोगटीको सिने–यात्रालाई अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।