उमेश बि.क / नवलपरासी ,२९ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२, मनरीस्थित थारु सांस्कृतिक पार्कमा आयोजना हुने २०औँ खिचडी (माघी) महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। श्रीराम युवा प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव यस वर्ष अझ व्यापक र आकर्षक बनाउने लक्ष्यसहित तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ। प्रतिष्ठानका अध्यक्ष चक्रमणी चौधरीका अनुसार स्थानीय स्तरबाट सुरु भएको खिचडी महोत्सवले अहिले जिल्लामै छुट्टै पहिचान बनाइसकेको छ। “पहिला एउटा गाउँ केन्द्रित महोत्सव थियो, अहिले थारु सांस्कृतिक पार्कमा स्थानान्तरण भएपछि जिल्लादेखि लुम्बिनी प्रदेश र संघीय तहसम्मको चासो बढेको छ,” उहाँले भन्नुभयो। यस वर्ष महोत्सवलाई थप विस्तार गर्ने लक्ष्यसहित विद्यालयस्तरमा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिनेछ, जसले बालबालिकामा अध्ययन, अभिव्यक्ति र विश्लेषण क्षमता विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ। महोत्सवको पूर्वतयारीसँगै विगतमा वृक्षारोपण अभियानबाट अगाडि बढेका मनरीका थारु महिलाहरू हाल पार्कभित्र रुख–विरुवाको सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन्। सार्वजनिक जग्गाको संरक्षणका लागि सुरु गरिएको वृक्षारोपण आज मनमोहक थारु सांस्कृतिक पार्कमा रूपान्तरण हुँदै जानु स्थानीयको साझा उपलब्धिका रूपमा लिइएको छ। गाउँका विभिन्न सांस्कृतिक समूहहरू पनि आ–आफ्नो प्रस्तुति तयारीमा जुटेका छन्। हुलाकी राजमार्गबाट करिब ७ मिटर पश्चिम, उत्तर भलुही खोलाको किनारमा निर्माणाधीन पार्कमा यस वर्षदेखि खिचडी महोत्सव र माघी मेला स्थायी रूपमा आयोजना हुने भएपछि पार्क व्यवस्थापन र पूर्वाधारमा थप आकर्षण थप्ने काम भइरहेको छ। थारु समुदायको संस्कृति र संस्कार झल्किने गरी पार्क निर्माणमा गाउँपालिकाले समेत चासो दिएर काम गर्दै आएको छ। मेलाका क्रममा निर्माण गरिने धेरैजसो थारु संस्कृति झल्किने संरचनाहरू स्थायी रूपमा पार्कमै सुरक्षित रहने भएकाले यसले दीर्घकालीन सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। पुष ३० गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने २०औँ खिचडी (माघी) महोत्सवमा थारु सांस्कृतिक नृत्य, थारु नाटक, रक्तदान कार्यक्रम, ढकिया दौड प्रतियोगिता, भलिबल प्रतियोगिता, टिकटक स्टार तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। संस्कृति, पहिचान र सामुदायिक एकताको प्रतीकका रूपमा स्थापित खिचडी महोत्सवले यस वर्ष पनि स्थानीयदेखि बाह्य पर्यटकसम्मलाई आकर्षित गर्ने विश्वास आयोजक र स्थानीयवासीले व्यक्त गरेका छन्। मेलाको विशेष आकर्षणका रूपमा थारु घर निर्माण गरिएको छ, जहाँ थारु समुदायका परम्परागत सामग्री, जीवनशैली र संस्कार झल्किने सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन्। यसले आगन्तुकलाई थारु समुदायको मौलिक संस्कृति, रहनसहन र ऐतिहासिक पहिचान नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।