रंजीत शर्मा | नवलपरासी , २५ पुस पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५, परासीमा अवस्थित सत साहेब सिटी अस्पताल प्रा.लि. ले २५ शैयाको अस्पताल निर्माण तथा सञ्चालनका लागि तयार पारेको संक्षिप्त वातावरणीय अध्ययन (BES) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। अस्पतालको पूर्वाधार विस्तार तथा स्वास्थ्य सेवाको स्तरोन्नति गर्ने उद्देश्यले अस्पतालकै प्राङ्गणमा आयोजित उक्त सार्वजनिक सुनुवाइमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, बुद्धिजीवी, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा वातावरणीय विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जानकारी दिँदै अस्पतालका सञ्चालक डा. अजेन्द्र यादवले हाल सञ्चालनमा रहेको १५ शैयाको अस्पताललाई विस्तार गरी २५ शैयामा रूपान्तरण गर्दै आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको बताउनुभयो। अस्पताल विस्तारपछि सामान्य चिकित्सा सेवासँगै स्त्रीरोग तथा प्रसूति सेवा, बाल तथा शिशु सेवा, जनरल सर्जरी, आकस्मिक (इमरजेन्सी) सेवा, ओपीडी, एक्स–रे, इसिजी, प्रयोगशाला, फार्मेसी, दन्त तथा आँखाको उपचार सेवा लगायतका सुविधा थप गरिने प्रस्ताव प्रस्तुत गरिएको छ। साथै हाल सञ्चालनमा रहेको २४ सै घण्टा आकस्मिक सेवासँगै थप विशिष्टीकृत सेवा सुरु गर्ने योजनासमेत रहेको जानकारी दिइयो। संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदनमा अस्पताल निर्माण तथा सञ्चालनका क्रममा वातावरणमा पर्न सक्ने सम्भावित असर र त्यसको न्यूनीकरणका उपायहरू समेटिएको छ। विशेष गरी चिकित्सकीय तथा जैविक फोहोरको सुरक्षित व्यवस्थापन, सरसफाइ, ध्वनि र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखिने जनाइएको छ। सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरूले अस्पताल विस्तारले क्षेत्रको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। यद्यपि केही सहभागीले ट्राफिक व्यवस्थापन, सरसफाइ तथा फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए। कार्यक्रममा लुम्बिनी साइन्टिफिक इम्पोरियम, रामग्राम–१३ ले प्राविधिक सहयोग प्रदान गरेको थियो भने आयोजनाको जिम्मेवारी सत साहेब सिटी अस्पताल प्रा.लि. ले लिएको थियो। अस्पताल व्यवस्थापन पक्षले सार्वजनिक सुनुवाइमा प्राप्त सुझावलाई समेट्दै वातावरणमैत्री ढंगले अस्पताल विस्तार तथा सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।