लागूऔषधसहित दुई भारतीय र दुई नेपाली नागरिक नियन्त्रणमा अनिल बनिया / नवलपरासी ,८ पुस नवलपरासीमा लागूऔषध ओसार–पसार तथा बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले चार जनालाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ करिब ५ बजे परासी बजार आसपासबाट अपरेशन सुरु गरेको थियो। अपरेशनका क्रममा रामग्राम नगरपालिका–१२ पचगावाबाट लु ७२ प २९१३ नम्बरको मोटरसाइकलमा सवार पाल्हीनन्दन गाउँपालिका–६ पडरीका ३० वर्षीय शहरेदिन अन्सारी जोलाहा र १९ वर्षीय कृष्णकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट डाईजेपाम, फेनरागन र बुप्रेनोर्फिन गरी ४५० एम्पुल लागूऔषध बरामद गरिएको छ। थप अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा सोही दिन साँझ पाल्हीनन्दन गाउँपालिका–४ लोकपुरवा नजिक नहरछेउमा भारत उत्तर प्रदेश महाराजगंज जिल्लाका २७ वर्षीय ईरसाद अली र २४ वर्षीय नवि रसुल सवार युपी ५६ बिई ५५३७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा ठूलो परिमाणको लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलबाट डाईजेपाम १,४९४ एम्पुल, फेनरागन १,४९८ एम्पुल, बुप्रेनोर्फिन १,४९१ एम्पुल र नगद ४० हजार रुपैयाँ बरामद गरिएको हो। यसैक्रममा शहरेदिन अन्सारी जोलाहाको घर (पाल्हीनन्दन–६ पडरी) मा रीतपूर्वक खानतलासी गर्दा थप डाईजेपाम ४४३ एम्पुल, फेनरागन ४४३ एम्पुल र बुप्रेनोर्फिन ४५३ एम्पुल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार चारै जनाबाट कुल डाईजेपाम २,०८७ एम्पुल, फेनरागन २,०९१ एम्पुल र बुप्रेनोर्फिन २,०९४ एम्पुल गरी जम्मा ६,२७२ एम्पुल लागूऔषध, दुई थान मोटरसाइकल र नगद ४० हजार रुपैयाँ नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूमाथि नवलपरासी जिल्ला अदालतबाट सोमबारदेखि लागू हुने गरी १० दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।