आरपि उपाध्याय / त्रिवेणी ,२१ कार्तिक पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ को वडा कार्यालयको हलमा सिमा सुरक्षा सम्बन्धि अभिमुखिकरण गोष्ठी शुक्रबार सम्पन्न भएको छ। श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोर ब्यारेकको आयोजनामा अभिमिखिकरण गोष्ठी सम्पन्न भएको हो। अभिमुखिकरण गोष्ठीमा आफ्नो धारणा राख्ने वक्ताहरुले त्रिवेणी र गण्डक ब्यारेज आसपासका इलाकाहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हुने गरेको गैरकानुनी कार्य रोक्न सुरक्षा निकाय अझै गम्भीर हुनुपर्ने बताउदै त्रिवेणी क्षेत्रका विद्यालयहरुमा लागू औषध रोकथाम र नियन्त्रण सम्बन्धि जनचेतनामूलक तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो। सिमा पार भारतबाट नेपाल आउने सवारीसाधनहरुलाई चेकजाँच कार्य फितलो भएको बताउदै उनीहरूले चेकजाँच कार्यलाई अझ कडाइका साथ गरिनु पर्ने र सिमा क्षेत्रका सरकारी जग्गाहरु अतिक्रमण हुँदै आएकोमा त्यस्ता गतिविधि रोक्न वडा न.६ र ७ को जनप्रतिनिधि र सुरक्षा निकायले त्यसको पनि निगरानी गर्नुपर्ने सुझाव दिएका थिए। गोष्ठीमा “प्रहरी युनिफर्म लगाएको नागरिक हो भने नागरिक बेगर युनिफर्मको प्रहरी” भएको हुँदा नागरिक र सुरक्षा निकायबीच गहिरो सम्बन्ध भएमा अपराधीहरु लुक्न र बच्नै नसक्ने अवस्था आउने हुँदा प्रहरी र नागरिक बिचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने कुरामाथी पनि जोड दिइएको थियो। सो अवसरमा त्रिवेणी पारी चितवन माणी नगरपालिका १ मा पर्ने सेनाको फुलबारी चौकी द्वन्द्व कालमा हटाइएकोले उक्त पोस्ट पुनः सञ्चालन गर्नुपर्ने सुझाव दिइएको पनि जानकारीमा आएको छ। सिमा पार भारतीय बजारबाट बिरामी र मरेका कुखुराको मासु बेरोकटोक गण्डक ब्यारेज पुलबाट नेपाल भित्रीने गरिएकोमा त्यस्ता कार्य तत्काल बन्द गरिनु पर्ने पनि सुझाव दिइएको थियो। कार्यक्रममा नेपाली सेनाको त्रिवेणी सुरक्षा बेसले सर्पडन्स सम्बन्धि उपचार कार्य गर्दै आएकोमा उक्त सर्पडन्स उपचार कार्यको स्तर उन्नतिको माग पनि सहभागीहरुले गरेका थिए। नेपाली सेनाको श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरका गणपति प्रमुख सेनानी नारायण बस्नेतको अध्यक्षतामा आयोजित अभिमुखी तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्नेहरुले उक्त सुझाव दिएका हुन। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पुर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले नागरिकहरुले दिएको सल्लाह र सुझावलाई अक्षरश: पालन गरिने र नागरिकले दिएको सुचनामा धेरै शक्ति भएको हुँदा प्राप्त सुचनालाई जिल्ला प्रशासन कार्यालयले पालन गर्ने बताउदै जिल्ला प्रशासन कार्यालयले बेला बेलामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिदै आएको प्रष्ट पार्नुभयो। कार्यक्रममा स्थानीय सन्तोष रौनियार, सफला नेपाल,चिरञ्जीवी ढुंगाना,हरबेन्द्र कुमार कार्की,अमर कुमार क्षेत्री,भेषराज खनाल,प्रेमचन्द रौनियार,ज्योति नेपालकी कृति ओली लगायतले पछिल्लो समय यता त्रिवेणी र आसपासका क्षेत्रमा मौलाएको अवैध गतिविधि रोकेर जिल्ला प्रशासनले सुशासनको प्रत्याभूति दिनुपर्ने कुरा औल्याएका थिए। कार्यक्रममा सहभागीद्वारा उठाइएको प्रश्नको जवाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी शर्मा,नेपाली सेनाका प्रमुख सेनानी नारायण बस्नेत,सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका सशस्त्र प्रहरी निरीक्षक कुल बहादुर खडका,ई.प्र.का. त्रिवेणीका वरिष्ठ स.ई. गगन गिरी, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख निर्मलराज बराल लगायतले आफ्नो कार्यालय संग सम्बन्धित जिज्ञासाको जवाफ दिनुभएको थियो। सो अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का जनप्रतिनिधि,संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय सञ्चारकर्मीहरुको पनि उपस्थित रहेको बताइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।