काठमाडौं,८ कार्तिक। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आर्थिक क्षति अब सरकारकै जिम्मेवारीमा पर्न सक्ने भएको छ। अर्थमन्त्री रामेश्वर खनालले बीमा र वित्तीय प्रणालीले नसमेट्ने क्षति सरकारले व्यहोर्ने स्पष्ट संकेत दिएका छन्। शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटमा अर्थमन्त्री खनालले आन्दोलनका क्रममा निजी क्षेत्रले भोगेको नोक्सानी बेवास्ता नहुने बताए। उनका अनुसार बजार प्रणालीले वा बीमाले क्षतिपूर्ति दिन नसक्ने अवस्थाको क्षति सरकारले नै व्यवस्थापन गर्छ। ‘कतिपय क्षति बजार प्रक्रियाबाट नै व्यवस्थापन हुन्छ,’ उनले भने, ‘तर बीमा, बैंक र वित्तीय प्रणालीले कभर गर्न नसक्ने खालका क्षतिबापत सरकारले व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।’ खनालले आन्दोलनबाट प्रभावित क्षेत्रको औपचारिक विवरण संकलन भइरहेको बताए। उनका अनुसार टास्क फोर्समार्फत सम्पत्तिको ‘लस’ र ‘ड्यामेज’ विवरण संकलन भइरहेकाले त्यही रिपोर्टका आधारमा सहयोगको मोडालिटी तय गरिनेछ। ‘व्यवसायीहरूले गुमाएको सम्पत्तिको पुनःस्थापना अनुदान वा सहुलियतपूर्ण ऋणमार्फत हुनेछ,’ उनले स्पष्ट पारे, ‘यो सरकारले आफ्नो कार्यकालमै यो काम पूरा गर्छ।’ अर्थमन्त्री खनालले आन्दोलनका कारण प्रभावित उद्योग–व्यवसायका ऋणको म्याद पनि थपिएको जानकारी दिए। उनले भने, ‘पुनर्निर्माणका लागि लगानीको प्रबन्ध गरिएको छ। अहिले भैरहेका ऋणहरूको म्याद पनि विस्तार गरिएको छ।’ उनका अनुसार यो सरकारले दीर्घकालीन नीतिगत स्थायित्वका लागि जग तयार पार्ने काम गरिरहेको छ। ‘हामी निर्वाचनमुखी सरकार हौं,’ उनले भने, ‘त्यसैले अध्यादेश ल्याएर कानुन बनाउन सहज छैन। तर ग्राउन्डवर्क तयार गरेर अर्को सरकारलाई हस्तान्तरण गर्नेछौं।’ खनालले आन्दोलनका क्षति र त्यसपछिका आर्थिक पुनःस्थापना कार्यलाई सरकार गम्भीर रूपमा हेरेको बताए। उनका अनुसार आगामी हप्ता भित्रै टास्क फोर्सले प्रारम्भिक प्रतिवेदन बुझाउने तयारीमा छ, जसका आधारमा सरकारले क्षति व्यहोर्ने रकम र विधि तय गर्नेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।