उमेश बि.क / नवलपरासी,२ कार्तिक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तिहार र छठ पर्व–२०८२ को अवसरमा प्लास्टिकजन्य माला र कृत्रिम फूलको प्रयोग निरुत्साहित गर्दै स्थानीय रूपमा उत्पादन भएका प्राकृतिक फूल तथा फूलका मालाहरूको प्रयोग गर्न सबै नगरवासीलाई आग्रह गरेको छ। नगर प्रमुख शम्भुलाल श्रेष्ठद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भनिएको छ— “स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकको संरक्षणका लागि बर्दघाट नगरपालिकाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। तिहार र छठ पर्वमा पनि कृत्रिम र प्लास्टिक माला प्रयोग नगरी स्थानीय स्तरमै उत्पादन भएका प्राकृतिक फूल तथा मालाको खरिद, बिक्री र प्रयोग गर्न सबैलाई अनुरोध गर्दछौं।” नगरपालिकाले यस अभियानमार्फत स्थानीय पुष्प व्यवसायीहरू र कृषकहरूलाई आर्थिक रूपमा सशक्त बनाउन चाहेको बताइएको छ। साथै प्लास्टिकजन्य वस्तुहरूको प्रयोग घटाउने प्रयासले पर्यावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने नगर प्रमुख श्रेष्ठको भनाइ छ। नगरवासीहरूलाई स्थानीय उत्पादन प्रयोग गर्न प्रोत्साहित गर्दै सूचनामा उल्लेख गरिएको छ— “स्थानीय उत्पादनको सम्मान, वातावरण संरक्षण र कृषकको हौसला— हाम्रो जिम्मेवारी, हाम्रो गौरव।” बर्दघाट नगरपालिकाको यो निर्णयले तिहार र छठ जस्ता राष्ट्रिय चाडपर्वमा पर्यावरणमैत्री संस्कृति प्रवर्द्धन गर्न सक्ने नगरवासीहरूले प्रतिक्रिया जनाएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।