Rashtriya Dainik

भन्सार पुग्नुअघि नै प्रहरीको असुली धन्दा, महेशपुर नाकामा भारतिय पर्यटक हैरान

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ भदौ

पश्चिम नवलपरासीको महेशपुर नाकामा प्रवेश गर्ने भारतीय पर्यटकलाई नेपाल प्रहरीबाट सास्ती खेप्नु परेको स्थानीयवासीले गुनासो गरेका छन् । दशगजा पार गरेर करिब ४ सय मिटर उत्तरमा भन्सार कार्यालय अवस्थित भए पनि त्यसअघि नै प्रहरी र शसस्त्र प्रहरीले पर्यटकका सवारी साधनमा पटक–पटक चेकजाँच गर्दै रकम असुल्ने गरेको आरोप छ ।

स्थानीयवासीका अनुसार प्रहरीहरूले विभिन्न बहानामा पर्यटकलाई धम्क्याउँदै मोटरसाइकलबाट समेत सय रुपैयाँसम्म असुल्ने गरेका छन् । दशगजादेखि भन्सारसम्मको क्षेत्र “असुली बफर जोन” बनेको उनीहरूको आरोप छ ।

भन्सारमा प्रक्रिया पुरा गरेपछि पनि भारतीय पर्यटकले नेपालमा गुम्न जान रुट परमिट लिन १४ किलोमिटर टाढा परासी बजार धाउनुपर्ने बाध्यता छ । त्यस क्रममा पनि प्रहरीले “रुट परमिट छैन” भन्दै रकम असुल्ने गरेको पर्यटकले स्थानीयमार्फत गुनासो गर्दै आएका छन् ।

लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारले यो समस्या पटक–पटक सम्बन्धित निकायमा उठाए पनि समाधान नभएको बताए । “पर्यटक सहजकरणभन्दा अप्ठ्यारो बनाउने प्रवृत्ति कायम रहे नेपालमा पर्यटन कसरी फस्टाउन सक्छ ?” सांसद कलवारको प्रश्न छ ।

प्रदेश सरकारको पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई लक्षित गर्दै छुट्टै नम्बर प्लेटको व्यवस्था गर्ने निर्णय गरे पनि कार्यान्वयन नहुँदा समस्या झन् जटिल बनेको हो । रामग्राम स्तुप लगायतका पर्यटकीय क्षेत्रमा प्रहरी विट भए पनि सुरक्षाभन्दा बढी चेकजाँच र असुलीमै प्रहरी व्यस्त देखिने स्थानीयको आरोप छ ।

यसैबीच, प्रहरीले भने भारतिय सवारीसाधन अनियन्त्रित र ‘रफ’ हुने भएकाले नियमन गर्न चेकजाँच गरिएको दाबी गर्छन् । “कुनै प्रहरीको असुलीमा संलग्नता प्रमाणित भए कारबाही हुन्छ,” प्रहरी अधिकृतहरूको भनाइ छ । तर पर्यटकहरू औपचारिक उजुरी गर्नभन्दा स्थानीयसँगै गुनासो पोख्ने गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित