रुपन्देही ,५ भदौ
नेपाल प्रेस युनियन रुपन्देहीले नयाँ सदस्ता वितरण तथा सदस्यता नविकरण अभियानकाे शुभारम्भ गरेकाे छ । अभियानकाे बिहिबार बुटवलमा एक कार्यक्रमका बिच नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुभारम्भ गर्नुभएकाे हाे ।
नेपाल प्रेस युनियन केन्द्रले शुभारम्भ गरेको एक सय दिने सदस्यता अभियान अन्तर्गत जिल्लामा अभियान शुभारम्भ गरिएकाे हो । अभियानको शुभारम्भ बुटवलमा पत्रकारिता गर्दै आएका नविन राना र जगत ठाडा मगरलाई नयाँ सदस्यता प्रदान गरिएको छ । उनीहरुलाई युनियनका केन्द्रीय अध्यक्ष लम्सालले युनियनकाे सदस्यता प्रदान गर्दै खादा लगाई संस्थामा स्वागत गर्नुभयाे ।
कार्यक्रममा अध्यक्ष लम्सालले तीनै तहका सरकारबाट प्रेस स्वतन्त्रलाई कुन्ठित गर्ने कार्य गईरहेकाे बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो । उहाँले डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनका लागि वडा तहबाट नै अभिलेखीकरण गर्नुपर्ने बताउँदै डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमा नै अभिलेखीकरण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्ने भए पत्रिका जस्तै एकपटकका लागि अभिलेखीकरण गरिने तर पटकपटक नविकरण गर्ने गरि मान्य नहुने प्रष्ट पार्नुभयो ।
अध्यक्ष लम्सालले अहिले देश बिचौलियाको हातमा गएको भन्दै उनीहरूका विरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले अहिलेको सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने बिचार व्यक्त गर्नुभयो ।
अध्यक्ष लम्सालले सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देशन गर्नुभयाे । उहाँका अनुसार शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत गर्नेछ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले प्रेस जगत समाजको ऐना भएको भन्दै सत्य तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षाका निम्ति प्रेसको भूमिका स्रहानीय रहेको उल्लेख गर्नुभयो । बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज नकारात्मकता तर्फ धकेलिएको भन्दै समाजलाई सकारात्मक बाटोमा हिडाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा युनियनका पूर्व अध्यक्ष रामराज पोख्रेल, सल्लाहकार तथा युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी लगायतले भनाई सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले सञ्चालन गरेकाे सय दिने सदस्यता अभियान अन्तरगत रुपन्देहीमा भदाै महिनाभरी नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरण अभियान सञ्चालन गरिने नेपाल प्रेस युनियन रुपन्देही अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे । उहाँका अनुसार युनियनले गुणात्मक पत्रकारितामा जाेड दिएकाे र आफ्ना सदस्यहरुकाे क्षमता विकासका लागि तालिम लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । उहाँले जिम्मेवार पत्रकारिता गरेर उदाहरण प्रस्तुत गर्नपनि सदस्यहरुलाई आग्रह गर्नुभयाे ।

सदस्यता अभियानलाई प्रभावकारी र व्यवस्थित बनाएर अघि बढिने नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय बनाईने अभियानका संयाेजक तथा युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले बताउनु भयाे । उहाँका अनुसार युनियन रुपन्देहीमा हाल २ सय सदस्य छन् ।

सदस्यता अभियानकाे शुभारम्भ कार्यक्रम उपाध्यक्ष दिपक घिमिरेको स्वागत तथा अर्का उपाध्यक्ष कल्पना तिवारीको धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

