राष्ट्रिय दैनिक /नवलपरासी, भाद्र ३ गते
र्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २ वर्षे कार्यकाल पूरा गरेका खानेपानी सचेतना समूहका सदस्यहरूको सम्मानसहित बिदाई गरेको छ । २०८० माघ ३ गते सम्पन्न कार्यक्रममा २२ वटा टोल विकास समितिबाट ३/३ जना गरी ६६ जनालाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको हो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति साथै खानेपानी तथा सरसफाइसम्बन्धी सचेतना फैलाउने गतिविधि समेत गरिएको थियो ।

सचेतना समूहका सदस्य उमा पाण्डे, लक्ष्मी ढकाल, रामकुमारी पाण्डे, शारदा नेपाल, कमला पुरी, सुनिता देवकोटा, श्रीधर भट्टराई, कमला न्यौपाने बस्याल लागायतले बोल्दै समूहमा रहँदा खानेपानीको शुद्धता, वितरण प्रणाली, पानी किन घमिलो हुन्छ, कसरी प्रशोधन गरिन्छ, गन्ध किन आउँछ, मुहानको सरसफाइ जस्ता विषयमा महत्त्वपूर्ण ज्ञान प्राप्त भएको अनुभव प्रस्तुत गर्नु भयो । सदस्यहरूले नेतृत्व विकास, सरसफाइसँग सम्बन्धित सीप र नयाँ कुराहरू सिक्ने अवसर प्राप्त भएको उल्लेख गर्नु भयो ।

बर्दघाट–४ का वडा अध्यक्ष एवम् संस्थाका सल्लाहकार वेदविना तिवारीले खानेपानी क्षेत्रसँगै बर्दघाट खानेपानीले सरसफाइ र वातावरण संरक्षणमा पनि उल्लेखनीय काम गरेको बताउनु भयो । “कहिले वृक्षारोपण, कहिले मुहान संरक्षण, कहिले सरसफाइ—यस्ता कामले संस्थालाई देशकै नमुना बनाएको छ,” तिवारीले भन्नु भयो । उहाँले अब सुरु गर्न लागिएको ‘शून्य फोहोर अभियान’ले बर्दघाटलाई अझ सफा र व्यवस्थित बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
संस्थाका अध्यक्ष दिपक लम्सालले सचेतना समूहले खानेपानी सुरक्षा योजना र सरसफाईको अभियानमा महत्त्वपूर्ण सहयोग पुर्याएको बताउनु भयो । उपभोक्ताहरुको जिज्ञासामा उहाँले केही स्थानमा देखिएका पाइपसम्बन्धी समस्या तत्काल समाधान गरिने जानकारी दिँदै उनले आगामी दिनमा सचेतना समूहको थप सक्रियता आवश्यक हुनेमा जोड दिनु भयो ।
संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले समूह गठन समुदायमा जनचेतना पुर्याउने उद्देश्यले गरिएको बताउँदै दुई वर्षमा धेरै राम्रा काम भए पनि अझ काम गर्ने अवसर बाँकी रहेको बताउनु भयो । “हामीले उद्देश्यअनुसार पर्याप्त काम दिन नसक्यौं तर आगामी दिनमा टोल विकास संस्थासँग मिलेर अझ प्रभावकारी कार्यक्रम अघि बढाउनेछौं,” थापाले भन्नु भयो ।

संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले सचेतना समूहले संस्थाको गतिविधिलाई सशक्त बनाउन धेरै सल्लाह–सुझाव दिएको बताउनु भयो । सचेतना समिति संयोजक शुशिला देवकोटाको अध्यक्षता र स्वागत रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव शोभाकान्त कोइरालाले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

