उमेश बि.क / नवलपरासी ,२५ असार
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यताबाट निष्काशन गरेको छ।
पश्चिम नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए। चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए।
चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो।
अनुशासन समितिको मिति २०८२ असार १७ गते बसेको बैठकले २०७९ सालको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको अभियोगमा परेको उजुरीका सन्दर्भमा निर्णय गरेको हो। उक्त उजुरीको आधारमा मागिएको स्पष्टिकरण चित्तबुझ्दो नलागेपछि खनालमाथि कारबाही गरिएको समितिले स्पष्ट पारेको छ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित पत्रमा, नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ङ) अनुसार खनाललाई पार्टी सदस्यताबाट १ वर्षका लागि निष्काशन गरिएको उल्लेख गरिएको छ।
खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशका निर्वाचित महामन्त्री हुन्। यस्ता वरिष्ठ तहका नेतामाथि अनुशासनको कठोर कारबाही हुनु पार्टीभित्र आन्तरिक अनुशासन सुदृढ गर्नेतर्फको संकेतको रूपमा लिइएको छ।
खनाल पक्षबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। तर स्रोतका अनुसार उनी उक्त कारबाहीविरुद्ध पार्टी नेतृत्वसँग पुनर्विचारको माग गर्ने तयारीमा छन्।
नेपाली कांग्रेस भित्र आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टी अनुशासनको विषयमा बढ्दो चासो रहेको बेला खनालमाथिको कारबाहीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

