२० असोज, बिराटनगर । मोरङको रतुवामाई नगरपालिका-८ की २३ वर्षीया दलित महिलालाई बलात्कार गरेको अभियोगमा कुखुरेडाँडाका काजी भनिने काजिमान श्रेष्ठ पक्राऊ परे । श्रेष्ठले प्रहरीमा मात्रै होइन, मोरङ जिल्ला अदालतसमेत ती महिलालाई करणी गरेको स्वीकार गरे । जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाले असोज १६ गते जारी गरेको तीनपन्ने आदेशमा यस्तो लेखिएको छ- ‘प्रतिवादीले अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्ष वयान गर्दा जाहेरवालाले रु. १०००।- मागेकोमा दिन्न भन्दा करणी गर्न दिन्छु, भरे भोलि पैसा दिँदा हुन्छ भनेकीले करणी गरेको हो, भरे भोलि पैसा माग्न नआएकोमा जबरजस्ती करणीमा जाहेरी दिइन् भन्ने उल्लेख गरेका छन् ।’ हेर्नुहोस् न्यायधीश कोइरालाको आदेश तर न्यायाधीश कोइरालाले बलात्कारको मुद्दामा करणी गरेको सकारी वयान दिने काजीलाई असोज १६ गते एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका छन् । उधारोमा करणी गरेको अदालतसमक्ष वयान दिएका काजीले अदातलबाट फकुवा भएर गाउँ फर्केपछि पीडितको परिवारमाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ । घाँस काट्न जाँदा बलात्कार ! पीडित महिलाका अनुसार २३ भदौमा खेतमा घाँस काट्न खेतमा गएका बेला आइपुगेका काजीमानले ‘ओइ कान्छी’ भन्दै बोलाएका थिए । तर आफूलाई हतार भएकाले घाँस काट्न लाग्दा काजीमानले पछाडिबाट काजीले समातेको र भुइँमा लडाएर मुख थुनेर घिसार्दै बाँसघारी छेउमा लगेर करणी गरेको उनले बताइन् । बलात्कारपछि घटनाबारे भने मार्ने धम्की दिएको उनले बयान छ । ‘साना छोराछोरी छन्, कसैलाई सुनाए मारिदिन्छु भनेपछि डर लाग्यो’ पीडितले भनिन्, ‘घरमा श्रीमानलाई सबै घटना सुनाएँ र गाउँका अगुवाको सहयोगमा प्रहरीसम्म पुगेँ ।’ प्रहरीको घटनास्थल मुचुल्कामा पनि जबरजस्ती करणी गरेको हो भनेर उल्लेख छ । आारोपित श्रेष्ठले प्रहरी र अदालतमा समेत जाहेरीवाला महिलासँग शारीरिक सम्बन्ध राखेको स्वीकार गरेका छन् । तर, एकहजार रुपैयाँ दिने सहमतिमा कसरी भएको काजीको दाबी छ । एक लाखमा मिल्न दबाव पीडित महिलाले इलाका प्रहरी कार्यालय सिँजुवामा दिएको उजुरीका आधारमा काजीमान २४ गते पक्राउ परे । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता भएका कारण पक्राउलगत्तै श्रेष्ठलाई छुटाउन स्थानीय नेताहरु र श्रेष्ठको परिवार लागेको महिला पक्षको गुनासो छ । पीडित महिला पनि आफूलाई पैसा लिएर मिल्न दबाब दिए पनि नमानेको बताउँछिन् । ‘पैसा लिएर मिल्नु भन्दै उसका (पीडकका) आफन्तहरु आए, अरुले पनि भने’ उनले भनिन् ‘मेरो इज्जतभन्दा पैसा ठूलो होइन भन्दै मिलिनँ ।’ आफ्नो श्रीमानलाई पनि प्रलोभनमा पार्न खोजेको तर पैसाका लागि श्रीमती बेच्दिनँ भनेर पठाएपछि गाउँलेले पनि धम्की दिएको उनले बताइन् । स्थानीय अगुवाले पनि प्रलोभनमा पार्ने प्रयास भएको बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘महिलालाई एक लाख लिएर मिल्न दबाब दिए । उनले नमानेपछि मसँग पनि कुरा गर्न आएका थिए, मैले हुँदैन भनिदिएँ ।’ धरौटीमा छुटे काजीमान प्रहरीले १८ दिनको अनुसन्धानपछि १२ असोजमा सरकारी वकिलको कार्यालय, मोरङमा प्रतिवेदन पेस गर्यो । सरकारी वकिलको कार्यालय मोरङले १५ असोजमा जिल्ला अदालत मोरङमा अभियोजन पेस गर्यो । र, १६ गते थुनछेक बहसपछि आरोपी १ लाख धरौटीमा छुटे । अदालतको आदेशमा भनिएको छ ‘…..पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाल प्रतिवादीलाई एक लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पूर्पक्ष गर्नू ।’ न्यायाधीश कोइरालाको इजलासले एक हजार दिने गरी करणी गरेको अभियुक्तको वयान, पीडितमा चोटपटक नदेखिएको स्वास्थ्य परीक्षण रिपोर्ट र झारपात नमाडिएको तथा जबरजस्ती कुनै कार्य भएको संकेत नदेखिएको घटनास्थलको मुचुल्काका आधारमा एक लाख धरौटीमा छाड्न भनेको देखिन्छ । पीडित पक्षले भने पहुँचको भरमा अदालतबाट छुटेको बताएका छन् । कानूनका जानकारहरुका अनुसार बलात्कार वा बलात्कार प्रयासका घटना एकान्त वा कोही नभएको ठाउँमा हुने भएकाले पीडितले दिएको वयानलाई नै बलियो प्रमाण मान्नुपर्छ । तर, यो फैसलामा पीडकको वयानलाई आधारलाई मानिएको छ र करणी गरेको स्वीकार गर्ने प्रतिवादीसमेत पैसा तिरेर छुटेको देखिन्छ । पीडकले भनेको जस्तै महिलाले लेनदेनमा शारीरिक सम्बन्ध राखेको मान्ने हो भने पनि त्यो अवस्थामा देहव्यापारको मुद्दामा दुबैलाई कारवाही गर्नुपर्ने हुन्छ । तर, आदेशमा यसबारे कोही बोलिएको छैन । पीडितमाथि कुटपिट, गाउँबाटै निकाल्ने धम्की अदालतबाट धरौटीमा छुटेका काजीमान गाउँ पुगेपछि पीडित महिलामाथि छिमेकी समेत मिलेर कुटपिट भएको छ । गाउँ निकाल्ने धम्कीसमेत दिएको र आफू गाउँमै आफू असुरक्षित भएको पीडित महिलाले बताएकी छन् । भनिन्, ‘हिजो मलाई घरमै कुटपिट भयो, गाउँमा धम्की दिइएको छ । अब म न्याय खोज्न कहाँ जाऊँ ?’ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।