राष्ट्रिय दैनिक , २५ असाेज एसिसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रन बनायो । नेपालका लागि कप्तान देव खनालले शतकीय इनिङ खेले । ६० बलको सामना गरेका उनले १२ चौका र ४ छक्कासहित १ सय रन बनाए । देवले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । यस्तै, विकेटकिपर दीपकप्रसाद डुम्रेले ४४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए । ओपनिङ ब्याटर दीपक बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनको पारी खेले । हेमन्त धामी २३, दीपेश कँडेल २९ र आकाश चन्द १९ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा अविजित रहे । अर्जुन कुमाल (शून्य), आकाश त्रिपाठी (३), दिपक बोहरा (१) र मिलन बोहरा (शून्य) ले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । इरानका लागि सलमान नियाजमान्द र दद्रहमान राईसीले सर्वाधिक तीन/तीन विकेट लिए । देवले रचे इतिहास नेपाली यू–१९ क्रिकेट टिमका कप्तान देव खनालले इतिहास रचेका छन् । उनले नेपालबाट यू–१९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् । देवले बिहीबार एसिसी यू–१९ प्रिमियर कप क्रिकेटमा इरानविरुद्ध १ सय रनको इनिङ खेलेसँगै यो उपलब्धि हासिल गरे । उनी युवा समूहको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने भने नेपालका दोस्रो ब्याटर हुन् । यसअघि रित गौतमले एसिसी यू–१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध १ सय ६ रन र यू–१९ इस्टर्न रिजनमा सिंगापुरविरुद्ध १ सय १५ रनको पारी खेलेका थिए । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ । प्रिमियर र एसिया कप नेपाली टिमका लागि विश्वकपको राम्रो तयारी हुनेछ । सिनियर टिमले पनि प्रिमियर कप जितेर एसिया कप खेलेका कारण यू-१९ टिममा पनि आत्मविश्वास बढेको छ । प्रिमियर कपमा नेपालले सेमिफाइनल र फाइनलमा यूएई, हङकङ, मलेसिया र कुवेतलाई प्रतिद्वन्द्वी पाउने सम्भावना छ । त्यसअघि समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरानका साथै बहराइन र साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो । विश्वकप २०२४ को जनवरीमा श्रीलंकामा हुनेछ । विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानको सामना गर्नेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।