Rashtriya Dainik

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै ,३ मंसिर – आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग बाहिर रहेको विभिन्न सरकारी तथ्याङ्कले देखाउँछ । सरकारले खुला दिसामुक्त देश घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि व्यवस्थित शौचालय प्रयोगमा सुधार नआएको नागरिककाे गुनासाे छ ।

गएको वर्षको सरकारी तथ्याङ्क अनुसार अझै पनि ५ प्रतिशत मानिस शौचालयको प्रयोगबाट बाहिर रहेको पाइएको छ । उनीहरुलाई सरसफाइको पहुँचमा ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

सुरक्षित शौचालयको अभावमा हुने फोहरका कारण हैजा तथा झाडापखाला लागेर धेरै नागरिकले ज्यान गुमाउने गरेका छन् । यसतर्फ सबैको चासो हुनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । गएको वैशाखमा मात्रै पनि नेपालमा हैजाले महामारीकै रुप लिएको थियो ।

शौचालयको राम्रो व्यवस्थापन र उपयोग गर्न सकेमा हैजा, झाडापखाला जस्ता सङ्क्रामक रोगबाट जोगिन सकिन्छ । शौचालयको प्रयोगपछि साबुन पानीले हात धुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित